
बागलुङ, १ चैत– गलकोट नगरपालिका वडा नं. ३ को कार्यालयबाट ५० मीटरको दुरीमा मुस्लिम बस्ती छ । यो बस्तीभित्रै मदरसा छ । तर बस्ती र मदरसा दुवै अव्यवस्थिति छ । एउटै छाप्रोमा मदरसा चलाउनु पर्दा स्थानीयले सास्ती खेपेका छन् ।
सडक र खोलाको छेउमा रहेको यो बस्ती वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गर्छ । पक्की शौचालय पनि छैन । सरसफाई अभाव छ । गौंदीखोला छेउमा रहेको यो अव्यवस्थित मुस्लिम बस्ती वर्षौदेखि यस्तै सकसबाट गुज्रेको स्थानीयले बताए । सिंगो बस्तीले फोहोर गौंदी खोलामा फाल्छ ।
‘हाम्रो घरघडेरी र जग्गा केही छैन, छाप्रोमा ओत लगाएका छौं, फोहोर फाल्ने ठाउँ पनि छैन’ स्थानीय कमालदिन मियाले भने, ‘मरेपछि फाल्ने घाटपनि नभएर ५० किमी पर कालीगण्डकी किनारमा पुग्छौं ।’ २०४२ सालमा व्यवसायको क्रममा आएका मुस्लिमहरु यहाँ अव्यवस्थित रुपमा बस्दै आएको उनले बताए । अहिले गलकोट नगरको वडा नं. ३ मा झण्डै ३० परिवार अव्यवस्थित बसोबास भएका मुस्लिम छन् ।
‘मदरसा बरकाति मदिना’का लागि उनीहरुले एक शिक्षक राखेका छन् । भुइमै बसेर ती बालबालिकाले पढ्ने गर्छन् । छाप्रोमा सबैको खानेबस्ने व्यवस्था र बिद्यालय पनि संचालन गर्नुपर्दा निकै सकस भएको मियाले बताए । उनीहरुको मदरसा व्वस्थापन र परिचयपत्र लगायतको काममा नगरपालिकाले सहयोग गरेको छ । लकडाउनको समयमा खान नपाएकालाई नगरपालिकाले खाद्यान्न सहयोग गरेको थियो ।
‘हामीले परिचयपत्र बनाएर चाडपर्व खर्चपनि बेला–बेला दिने गरेका छौं’ गलकोट नगरपालिका ३ का वडा अध्यक्ष बिरजंग भण्डारीले भने, ‘सिमानाको हिसाबले अर्कै वडामा छन्, तर नजिक भएकोले हामीले बेला–बेला सहयोग गरेका हौं ।’ जग्गा व्यवस्थापनका लागि भने नगरपालिकाभित्र सार्वजनिक जमिन नभएकोले केही गर्न नसकेको उनले बताए । बजार छेवैको खोला र बगर नभएकोले शव गाड्ने अनुमति दिन नसकिएको पनि उनले बताए । मृत्यु भएमा शव गाँड्नका लागि उनीहरुले गाडी रिर्जभ गरेर बागलुङ बजारहुँदै कालीगण्डकी किनारमा आउने गर्छन् ।
नगरपालिकाले फोहोर व्यवस्थापनका लागि पनि जग्गा खोजी रहेको छ । उक्त जग्गा व्यवस्थापन भएमा उनीहरको मृत्यु संस्कारका लागि पनि जग्गा दिन सकिने नगरप्रमुख भरत शर्मा गैरेले बताए । ‘मुस्लिम समुदायको घाटको समस्या भएको बुझेका छौं, तर नगरपालिकाको डम्पिङ साइट पनि बनेको छैन, जग्गाकै खोजीमा छौं’ उनले भने ‘केही व्यवस्थापनको काम गर्ने योजना छ, हालै बनेको भूमि व्यवस्था आयोगबाटपनि केही व्यवस्थापन भयो भने सजिलो होला ।’
वर्षौदेखि बसेकोले कसैकोपनि अन्यत्र घरजग्गा नरहेको मियाले बताए । उनीहरुको पुख्र्यौली भने बागलुङकै बलेवास्थित अमलाचौर भएको उनले बताए । यहाँका अधिकांसले छाता बनाउने, चुरा बेच्ने र कस्मेटिक सामानको खुद्रा व्यवसाय गरेर बसेका छन् । खोलाछेउमा बसेकोले सरसफाई समस्या भएको स्थानीय रहमत हकिमले गुनासो गरे ।





