बेनी, ३ चैत– पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रूम लुक्सिरका १६ वर्षीय केशव विक गत वर्षको एसइईमा राष्ट्रिय माविबाट ‘बि प्लस’ ग्रेड ल्याउने एक्लो विद्यार्थी हुन् । अहिले उनी कक्षा ११ मा पढ्न जानुपर्ने । तर, उनी ज्यालामजदुरीमा व्यस्त छन् ।
छिमेकी गाउँ निस्कोटमा आमा समूहको निर्माणधीन भवनमा बुवा रणबहादुरसँगै काम गरिरहेका छन् । चरम गरिबीका कारण उच्च शिक्षा पढ्नबाट बन्चित विकले पढ्ने रहर पन्छ्याएर घर निर्माणको कामबाट खर्च जुटाउने गरेका छन् । ‘पढ्न जाने पैसा छैन्,बुबाको कमाईले घरखर्च चल्छ,’ उनले भने, ‘काम नपाउँदा आर्थिक संकट पर्दा भोकभोकै बस्नुपर्छ,काममा नगएर कहाँ स्कुल जानु ?’
उच्च शिक्षाका लागि दरबाङ र सदरमुकाम बेनीमा जानुपर्छ । त्यहाँ जान आफूसँग पर्याप्त स्रोत नभएको विकको गुनासो छ । उनकी बहिनी गाउँमै कक्षा ९ मा पढ्दै छिन् । रणबहादुरका ३ छोरा र ४ छोरी छन् ।
रणबहादुरले छोरालाई सहर पठाउने पैसा नहुँदा ज्याला मजदुरी गर्न सँगै लैजाने गरेको बताए । छोराको पढाइ गाउँमै अन्त्य गर्नु परेकोेमा उनी दुःखी त छन्, तर उपाय छैन ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर घर्तीले गाउँमा कक्षा १२ सम्म अध्ययन÷अध्यापन नहुँदा गरिब विद्यार्थीहरु पढाइ छाड्न बाध्य भएको सुनाए । म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले केही दिनमै भर्नासहितको प्रक्रियामा सहभागी भए वार्षिक परीक्षामा सहभागी बनाउन सकिने बताए ।
सुवेदीले क्याम्पसको आन्तरिक परीक्षामा सहभागी भएकालाई छात्रवृत्ति कोटामा समेत सहभागी बनाउन सकिने भएपनि हाल आन्तरिक परीक्षा सञ्चालन भएकाले पोशाक, आवासीय सहित मासिक ५ हजारको अनुमानमा खर्च हुने बताए ।





