पोखरा, ८ चैत– मनाङमा शनिबार साँझ ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । साँझ करिब साढे ३ बजेतिर मनाङको नासों गाउँपालिका ३ मा दुर्घटना भएको थियो ।
दुर्घटनामा २ जना घाइते भएको त्यसमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख विष्णु लामिछानेका ३ जनाको घटनास्थलमा, उपचारका लागि लमजुङ ल्याउँदै गर्दा २ जना र चितवनमा उपचारका क्रममा एकजनाको मृत्यु भएको हो ।
घटनास्थलमै मृत्यु हुनेमा नासों गाउँपालिका ४ का ७ वर्षीय लिउन गुरुङ, सोही गाउँकै ३५ वर्षीय मनिषा गुरुङ र ३६ वर्षीय लालकाशी गुरुङ छन् ।
उपचारका लागि लमजुङ ल्याउँदै गर्दा मृत्यु हुनेमा लमजुङकै मर्स्याङ्दी गाउँपालिका ५ का लक्ष्मण नेपाली र मनाङको चामे गाउँपालिका ४ का धनमान विक भएको जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काले जानकारी दिए । लमजुङमा मृत्यु भएका नेपाली ट्रकका सहचालक पनि भएको उनले बताए ।
घाइते ३ जनालाई लमजुङबाट थप उपचारका लागि चितवन रेफर गरिएको थियो । त्यसमध्ये राति थप एकजनाको चितवनमा उपचारको क्रममा मृत्यु भएको खड्काले जानकारी दिए । मृत्यु हुनेमा ७ वर्षीय थिउन गुरुङ हुन् । उनले भने, ‘चितवनमा उपचार भइराखेकामध्ये ७ वर्षीय निहल गुरुङको अवस्था सामान्य छ । तर, ट्रकका चालक तनहुँ भानुका २१ वर्षीय सुमन तामाङको अवस्था गम्भीर छ ।’
मनाङ प्रजिअ लामिछानेका अनुसार गाउँमा अस्फाल्ट पिच गर्न लैजाँदै गरेको सिमेन्टवाहक ट्रक दुर्घटनामा परेको हो । ध १ ख ५९२ नम्बरको मालवाहक ट्रकमा २ जना चालक दलसहित ८ जना सवार थिए ।
‘बेंसीशहरबाट मनाङको चामे जाँदै रहेछ । तर, बाटो अप्ठ्यारो र उकालो भएकाले जान नसकेर पछाडि ब्याक भएर दुर्घटना हुन पुग्यो’ प्रजिअ लामिछानेले भने, त्यसपछि ४५ मिटर जति तल खसेर ठ्याक्कै ढुंगामा बजारिन पुगेको रहेछ ।’





