
पोखरा, २९ चैत– देशमा कोरोनाको नयाँ भेरिएन्ट (प्रजाति) को संक्रमण देखिन थालेपछि सरकारले विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्ने तयारी गरेको छ ।
शनिबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोना रोकथामका लागि नयाँ स्वास्थ्य मापदण्ड तयार पारेको हो । उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले पारित गरेको प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा लगिनेछ । त्यसपछि लागू गरिनेछ ।
प्रस्तावमा संक्रमण बढी भएका स्थानका विद्यालय तथा क्याम्पस कम्तीमा ३ साता बन्द गर्ने तथा रात्रिकालीन व्यवसाय राति १० बजेबाट प्रतिबन्ध लगाउनेलगायत ११ बुँदा छन् । संक्रमणको अवस्था हेरेर एक स्थानीय तहबाट अर्कोमा आवागमनमा पनि कडाइ गर्ने निर्णय बैठकले गरेको छ ।
काठमाडौं, पोखरालगायतका सहर तथा केही विद्यालय÷क्याम्पसमा कोरोनाको बेलायती नयाँ भेरिएन्ट (एस जिन नेगेटिभ) बढेको र विद्यालय जाने उमेर समूहमा संक्रमण बढी देखिएको सीसीएमसीले जनाएको छ ।
बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्न र नयाँ प्रजातिको कोरोनाबाट बच्न आम नागरिकमा अपिल पनि गरेको छ ।





