नवलपुर, ९ वैशाख– प्रकृतिको कुचीकारको रुपमा मानिने पंक्षी गिद्ध ठूलो संख्यामा मृत फेला परेका छन् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित पाल्ही क्याम्पस पछाडिको क्षेत्रमा एकैपटक ६७ वटा गिद्ध मृत भेटिएका हुन् ।
प्राकृतिक सन्तुलनलाई कायम राख्ने उद्देश्यले नवलपुरको कावासोतीस्थित पिठौलीमा रहेको जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति र नेपाल पंक्षी संक्षण संघले परासीमा ६७ वटा मृत र एउटा बिरामी अवस्थाको गिद्ध फेला पारेको जनाएको छ ।
संरक्षणकर्मी डिबी चौधरीले दिएको जानकारी अनुसार मृतावस्थामा भेटिएका ६७ वटा गिद्ध ४ प्रजातिका छन् । तीमध्ये ३३ वटा डंगर, ३१ वटा हिमाली गिद्ध, २ वटा राजगिद्ध र सानो खैरो प्रजातिको गिद्ध एउटा मृतावस्थामा भेटिएका छन् । एउटा बिरामी अवस्थामा भेटिएकाले उद्धार गरी स्थानीय पशुपंक्षी प्राविधिकको प्रयासमा उपचार भइरहेको उनले जानकारी दिएका छन् । मृत भेटिएकामध्ये एउटा गिद्धमा जटायु रेस्टुरेन्टले यसअघि उद्धार गरी चिनारीका लागि ट्याग लगाएर छोडिएको जंगली गिद्ध भएको जनाएको छ ।
एकैपटक एकै स्थानमा यति ठूलो संख्यामा मृतावस्थामा गिद्ध भेटिएपछि स्थलगत अनुगमनमा वातावरण–प्राकृतिक तथा पंक्षी संरक्षणसँग सम्बन्धित सरोकारवालाहरुको प्रतिनिधिमण्डल सहितको टोलीका साथै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी, जिल्ला वन कार्यालय प्रमुख, प्रहरी सहितको टोली स्थलगत अनुगमनमा पुगेको संरक्षणकर्मी चौधरीले बताए ।
चौधरीका अनुसार घटनास्थल नजिकैको क्षेत्रमा ३ वटा बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा ३ वटा मृत कुकुर भेटिएकाले गिद्धको मुख्य आहारा मृत वस्तु (सिनो) भएकाले उक्त सिनो आफ्नो आहाराका रुपमा प्रयोग हुँदा घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । ‘कुकुर मार्न उच्च बिषादी प्रयोग भएको र कुकुरको शरीरमा विषको मात्रा पूर्ण रुपमा फैलिएपछि मरेका कुकुरलाई स्थानीयले जंगल र खोलाको नजिक खुला रुपमा फ्याँक्दा गिद्धहरुले आफ्नो आहारा बनाएकै कारण मरेका हुनसक्ने आंशका गरिएको छ,’ उनले भने, ‘यद्यपि थप अनुसन्धान हुन भने बाँकी छ ।’
गिद्ध संरक्षणमा काम गरिरहेका चौधरी ३ वटा मृत कुकुर भेटिएकै आसपासमा ठूलो संख्यामा गिद्धहरु मरेको भेटिनु बलियो आधार र प्रमुख कारण गिद्धको प्रमुख आहारा मृत वस्तु वा सिनोमा अत्याधिक बिषादी प्रयोग हुनु विगतको अध्ययन र प्रयोगले पनि पुष्टि गरेको बताउँछन् ।
यसअघि पनि पश्चिम नवलपरासीकै बर्दघाटमा १७ वटा गिद्ध यस्तै प्रकृतिले मरेको चौधरीले बताए । त्यतिबेला घटनाबारे छिटो जानकारी पाउँदा बिरामी अवस्थामा भेटिएका ८ वटा गिद्धको भने उद्धार गरी उपचार गर्न सफल भएको सुनाए ।





