बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गण्डकीका मुख्यमन्त्री भन्छन्,– ‘ओली– नेपाल संवादहीनता आइसब्रेक गर्ने मै हो नि !’

गण्डकीका मुख्यमन्त्री भन्छन्,– ‘ओली– नेपाल संवादहीनता आइसब्रेक गर्ने मै हो नि !’

माधव नेपालले मात्रै होइन, प्रधानमन्त्री ओलीले पनि आफ्नो कमजोरी स्वीकार्नु पर्छ ।


  • ढोरपाटन सम्वाददाता
  • बैशाख १० २०७८, शुक्रबार

पोखरा, १० वैशाख– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच टुटेको संवाद आफूले जोडेको गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दावी गरेका छन् ।
आफूविरुद्ध आएको अविश्वासको प्रस्तावलाई शीर्ष नेताहरुसँग छलफल गरेर तुहाउने उद्घोष गर्दै काठमाडौं हानिएका उनले ‘आफ्नो कुरा छाडेर’ नेता मिलाउने काम गरेको जिकिर गरेका हुन् ।

‘प्रधानमन्त्री र माधवजीबीचको संवादहीनता ‘आइसब्रेक’ गर्ने त मै हो नि’, मुख्यमन्त्री गुरुङले भने, ‘यो संवादबाट समाधान निकाल्न हामी सबैले प्रयत्न गर्नुपर्छ ।’ प्रधानमन्त्री ओली र नेता नेपालबीच बुधबार र बिहीबार काठमाडौंमा वार्ता भएको थियो ।
‘माधव समुहमा सकारात्मक पक्षमा को को छ भनेर खोजीमा थिएँ । नयाँ पार्टीमा नजाने मान्छेको खोजीमा । अलिअघि घनश्यामजीसँग कुरा भएको थियो, उहाँ र गोकर्णजीको फोन लागेन त्यसपछि मैले योगेशजीलाई बोलाए,’ उनले भने ।
एमाले सचिवसमेत रहेका मुख्यमन्त्री गुरुङले अर्का सचिव योगेश भट्टराई पनि पार्टी एकताकै पक्षमा रहेको आफूले विश्वस्त सूत्रबाट थाहा पाएको बताए । उनले भने, ‘योगेशजी नयाँ पार्टीमा जाने मुडमा हुनुहुन्न भनेर मैले विश्वस्त सूत्रबाट थाहा पाएँ । उहाँले कमिटीको बैठकमा अब नयाँ पार्टी खोलेर जानुपर्छ भन्नेहरुका विरुद्ध आफ्नो मत राखेको मैले सुत्रबाट थाहा पाएँ । त्यो थाहा पाएपछि मैले सम्पर्क गरेर ल दुई भाइ बसौं भनें । हामी दुई भाई २ घण्टा छलफल ग¥यौं ।’
यी दुई नेतावीच वैशाख ७ गते ललितपुरको धोबीघाटमा भेटघाट भएको थियो । योगेशलाई प्रधानमन्त्री ओलीसँग भेट्न तारतम्य मिलाइदिने पनि आफै भएको उनले जिकिर गरे । उनले योगेशसँगको भेटमा माधव समूहको समस्या प्रधानमन्त्रीलाई सुनाउन सुझाएको र त्यही साँझ ९ बजेटिर प्रधानमन्त्रीलाई भेटेर माधव समूहमा लागेका नेताहरुसँग वार्ता गर्न आग्रह गरेको बताए ।
‘नेपाल समूहमा लागेका सकारात्मक पक्षका मान्छेहरु को–को हुन् ? भन्ने बुझियो । प्रतिनिधि सभामा र राष्ट्रिय सभाका एमालेका सांसदहरु नयाँ पार्टी खोल्यो भने एमालेमै बस्ने र मान्छेहरु खोजी गरियो’, प्रधानमन्त्रीसँग भएको भेटघाटबारे चर्चा गर्दै मुख्यमन्त्री गुरुङले भने,‘ यसबारे संवाद अघि बढाउन प्रधानमन्त्रीलाई अनुरोध गरें ।’
त्यही भेटमा माधव नेपाललाई पनि संवादमा बोलाउने भनेर छलफल गरेको गुरुङले बताए । ‘उहाँ (माधव नेपाल) धेरै पर पुगिसक्नुभएको छ, संवाद गरेर यता ल्याउन प¥यो भनियो, गुरुङले भने, ‘भोलिका दिनमा जसरी पनि योगेशजीलाई पनि भेट्न मैले प्रधानमन्त्रीलाई भनें, उहाँले हुन्छ जसरी नि भोलि भेट्छु भनेर भेट्नुभयो पनि ।’
भोलिपल्ट अर्थात वैशाख ८ गते योगेश भट्टराइलाई फोन गरेर बालुवाटारबाट भेटघाटका लागि खबर आए÷नआएको आफूले जानकारी लिएको गुरुङले बताए । उनले भने, ‘योगेशजीले बालुवाटारबाट बोलाएको खबर आएको बताएपछि मैले त्यहाँ (नेपाल पक्ष)का समस्या, सुचना र प्रवृत्तिका बारेमा विस्तृतमा जानकारी गराउनुहोला भनेँ ।’
योगेश भट्टराइसँग छलफलपश्चात आफूले पनि माधव नेपालसँग कुराकानी थाल्न प्रधानमन्त्रीलाई आग्रह गरेको मुख्यमन्त्री गुरुङले दाबी गरे । ओली र नेपालबीचको संवादहीनता आइसबे्रक यसरी गरेको भन्दै उनले थपे, ‘उहाँहरु (ओली र नेपाल)लाई जुटाइदिने मान्छे पनि भएन । नेपालजीलाई तपाईँ नै फोन गरेर प्रस्ताव गर्नुस्, मैले राख्नभन्दा तपाईँले नै प्रस्ताव गर्दा उपयुक्त हुन्छ भनेर प्रधानमन्त्रीलाई भनेपछि त्यहींबाट माधव नेपाललाई फोन गरेर भेट्ने प्रपञ्च मिलाउनुभयो । यसरी उहाँहरु बीचको संवादहीनता तोडियो ।’
मुख्यमन्त्री गुरुङले संवादहीनता तोडिनु नै ‘गुड न्युज’ भन्दै यसलाई परिणाममुखी बनाउन सबैले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए । ‘यसमा सबैभन्दा ठुलो जिम्मेवारी प्रधानमन्त्रीज्यूकै छ’, उनले भने, ‘माधव कमरेडको पनि त्यति नै ठूलो जिम्मेवारी छ ।’
बालुवाटारले माधव र झलनाथ बिनाको एमालेको परिकल्पना नगरेको भन्दै पार्टीको पक्षमा आउनेलाई जिम्मेवारी दिँदै जाने बताए । पार्टी एकतावद्ध हुँदा अहिले दिएको जिम्मेवारी हेरफेर हुन सक्ने सम्भावना व्यक्त गर्दै उनले अहिले दिएको जिम्मेवारी ढुङ्गाले लेखेको अक्षर नभएको बताए ।
प्रधानमन्त्री ओलीपक्षीय नेता गुरुङले माधव नेपाल समूह पार्टी बैठकमा नआउँदा काम रोक्न भने नसकिने स्पष्ट पारे । ‘साथीहरु आउनुहोला र काम गरौंला भनेर पर्खने कुरा हुँदैन’, उनले भने, ‘आजको निर्णय भोलि चेञ्ज हुन पनि सक्छ, यसलाई ठूलो बाधाका रुपमा लिनु भएन ।’
योगेश भट्टराईसँग छलफल गर्दा माधव नेपाल पक्षले फागुन २८ गतेको निर्णयले अप्ठ्यारो पारेको जानकारी आफूले पाएको उनले बताए । उक्त बैठकबाट प्रधानमन्त्रीले काम गर्न सजिलो हुने गरी निर्णय लिएको मुख्यमन्त्रीको भनाई छ । उनले भने, ‘त्यो निर्णयबाट प्रधानमन्त्रीले आफूलाई काम गर्न सजिलो बनाएको पक्कै पनि होला । त्यो जरुरी पनि छ । असजिलो ठाउँमा बसेर काम गर्दा धेरै दुःख पाउनुभयो, उहाँले ।’
एमालेको महाधिवेशनबाट निर्वाचित सबै कमिटीको कार्यकाल डेढ वर्षअघि नै सकिएको भन्दै अब महाधिवेशन आयोजक कमिटी बनाएरै जानुपर्ने उनको तर्क छ । एमालेको ओली पक्षले केन्द्रिय कमिटीलाई महाधिवेशन आयोजक कमिटीका रुपमा रुपान्तरण गरेको छ ।
आयोजक कमिटीले चुनावको तयारी र महाधिवेशन दुबै गराउन सक्ने पनि उनले बताए । साविकको नेकपाबाट एमालेमा बसेका माओवादी नेताहरुलाई निश्चित जिम्मेवारी र सम्मान गर्नुपर्ने स्थिति रहेको भन्दै उनले माधव नेपाल पक्ष पनि महाधिवेशन आयोजक कमिटीमै आएर काम गर्नुपर्ने बताए ।
एमालेलाई एकतावद्ध गर्न सबैले आ–आफ्नो कमजोरी महशुस गर्नुपर्ने उनले बताए । ‘उहाँहरु (माधव नेपाल पक्ष)ले पछिल्लो क्रममा आएर फ्लोर क्रस ग¥यो । विपक्षी पार्टीसँग मिलेर आफ्नो पार्टीका विरुद्ध निर्णय ग¥यो । सर्वोच्च अदालतले पूर्ववत् पार्टीमा फर्क भनेपछि उहाँहरु होटल– होटलमा, ब्याङ्केटमा गएर पार्टीका विरुद्ध बैठक बसे । यसले पार्टीको विधि र पद्दति त मिचेकै छ, अनुशासनहीन र अराजक प्रवृत्ति पनि हो । तर, पार्टी मिलाउने कुरामा यी गीत गाएर संभव छैन’, उनले भने ।
माधव नेपाल समूहले देशव्यापी समानान्तर संगठन बनाएर नयाँ पार्टी खोल्ने आधार तयार गरेको आरोप लगाउँदै उनले आफ्नो गल्ती महशुस गरेर एकअर्कालाई स्वीकार गर्नुपर्ने बताए ।
‘यस विषयमा उहाँहरु (माधव नेपाल पक्ष)ले आत्मसमीक्षा गरेर गल्ती स्विकार गर्नुपर्छ । यही कुरामा अध्यक्ष ओलीको तर्फबाट पनि कहीँ न कहीँ कमजोरी भएको छ । उहाँले पनि स्वीकार्नुपर्छ । अब त्यो धोइपखाली गरेर धुलो टक्टक्याएर एकतावद्ध पार्टी बनाएर जानुपर्छ’ ,उनले भने ।
पार्टी एकतावद्ध बनाउँदा ओली पक्ष र नेपाल पक्ष भन्न नहुनेसमेत उनले बताए । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालवीच बुधबार र बिहीबार भएको संवाद सकारात्मक हुन नसकेकोतर्फ संकेत गर्दै मुख्यमन्त्री गुरुङले एक÷दुई दिनमै एकतावाद्ध हुन नसक्ने बताए । ‘संवादहीनता तोडियो यही ठूलो कुरा हो, झगडा यति दिनभित्र मिल्ने भन्ने हुँदैन’, उनले भने, ‘सकभर चाँडै मिलोस् भन्ने हो, तर सोचेभन्दा धेरै समय लाग्ला ।’
माधव नेपाल पक्ष पार्टीबाट बाहिरिने अवस्था आयो भने पनि फुट्ने अवस्था नआउने उनले बताए । ‘उहाँहरु जाने भनेको चोइटिएर जाने हो, फुटेर होइन’, उनले भने, ‘सकभर चोइटिन दिने होइन ।’ नेपाल पक्षको गतिविधिले नयाँ पार्टी बनाएरै जाने उनीहरुको तयारी भनेर आफूहरुले बुझेकोसमेत गुरुङको भनाई छ ।
‘के गरेर मिल्दैन भन्ने होइन कि, कसरी मिलाउन सक्छ भनेर सोचिराखेका छौं’, उनले भने, ‘एकतावद्ध पार्टी बनाउने भनेको ओलीपक्ष र माधव पक्षमा होइन, जनताको पक्षमा, राष्ट्रको पक्षमा र लोकतन्त्रको पक्षमा हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->