पोखरा, १५ वैशाख- सोमबारदेखि सुरु भएको गण्डकी प्रदेशको विशेष अधिवेशनमा दोस्रो दिन (मंगलबार) २५ जना सांसदले बोल्ने कार्यसूचि थियो । संसदमा पेस भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने तय थियो ।
पहिलो दिनको बैठकमा सत्तापक्षीय नेकपा एमालेका सांसदले सहजतापूर्वक आफ्ना कुरा राखेका पनि थिए । तर, मंगलबारको बैठकमा केही फरक देखियो । जब सभामुख नेत्रनाथ अधिकारीले अविश्वास प्रस्तावमाथि छलफल गर्न बैठक सुरु भएको घोषणा गरे । तब सत्तारुढ दलका सांसद नै पिसिआर परीक्षणबिनै बैठक बस्न थालिएको भन्दै संसद अवरुद्ध गरे ।
बैठकको सुरुआतमै एमाले सांसद राजीव पहारीले पिसिआर परीक्षण गरेपछि मात्रै बैठक बस्ने अडान राखे । उनले अधिकांश सांसद दीर्घ रोग भएकाले उनीहरुको स्वास्थ्यावस्थालाई ध्यान राख्दै पिसिआर परीक्षणपछिमात्रै संसद बैठक बस्नु पर्ने भनाइ राखे ।
‘कोरोना भाइरस दोस्रो चरण फैलिइरहेको छ । यो एकैचोटी ५०÷६० जनामा सर्ने अवस्था छ,’ सांसद राजीव पहारीले भने, ‘कास्कीले हिजोमात्रै निषेधाज्ञा जारी गरेको छ । गम्भीरतापूर्वक लिइयोस् । प्रशासनले सबै किसिमका सभा, बैठक नगर्न आदेश भएको छ । कोभिड १९ नियन्त्रणका लागि चेन ब्रेक गर्न सकिएन भने भारतले व्यहारेको जस्तो अवस्था नव्यहोरिला भन्न सकिन्न ।’
सांसद पहारीले प्रशासनले नै १५ जनाभन्दा बढी संख्यामा जम्मा हुन नदिन आदेश दिएको अवस्थामा २ सयभन्दा बढी बिना स्वास्थ्य मापदण्ड बैठक बस्न नहुने दाबी गरे । ‘अहिलेको विषम परिस्थितिलाई ख्याल गरेर सबै माननीयको पिसिआर परीक्षण गरियोस्, १५ जनाभन्दा बढी भिड नहुने भनिएको छ । यस्तोबेला भौतिक दूरी कायम नगरिन प्रदेश सभामा फैलियो भने के हुन्छ ? जिम्मेवारी को हुने ?’ उनले भने, ‘यहाँ धेरै माननीय ज्यूहरु दीर्घरोगी हुनुहुन्छ । पिसिआर परीक्षण पछिमात्रै प्रदेश सभा अगाडि बढाइयोस् । पिसिआर परीक्षण बिना संसद चल्न सक्दैन ।’
कार्य व्यवस्था समिति समितिको आइतबार बसेको बैठकले नै सबैको सहमतिमा विशेष अधिवेशन डाकिएको, कार्यसूचि तयार पारेको भन्दै सभामुखले पटकपटक बसेर सहजीकरण गर्न आग्रह गरिरहे । तर, सत्तारुढ दल उठेर विरोध गरिरहे ।
सभामुखले पटकपटक आग्रह गरिरहँदा पनि सत्तारुढ दलले संसद अवरुद्ध गरिरहेपछि उनले २० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे । बैठक स्थगित भएपछि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्यो । करिब ३ घन्टा लामो बैठकले बैठकलाई बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगन गर्ने घोषणा ग¥यो । बैठकमा सहभागी नेकपा एमालेका सांसद कृष्ण थापाले भने, ‘सबै माननीय ज्यूहरुको पिसिआर परीक्षण गरेरमात्रै बैठक बस्ने गरी भोलि (बुधबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ ।’
बहाना पिसिआर, सत्ता जोगाउने उपाय !
मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दलका सांसदले भने पिसिआरको बहानामा सत्ता जोगाउने खेलमा लागेको आरोप लगाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मतदान प्रक्रिया पछि धकेल्न संसदअवरुद्ध गरेको आरोप लगाए ।
नेपालीले सदनको अधिवेशन बोलाउनुअघि नै बसेको कार्यसमितिमा बैठकमा सत्तापक्षले पिसिआरबारे कुरा नउठाएको बताए । ‘सदनको विशेष अधिवेशन बोलाउँदा बसेको कार्यव्यवस्था परामर्श समितिमा उहाँहरूले यी कुरा गर्नुभएन,’ उनले भने, ‘अहिले आएर बल्ल त्यो कुरा उठाउँदै संसद अवरुद्ध गर्नुभयो । पिसिआर परीक्षण गर्ने कुरा ठिक भए पनि उहाँहरूको इन्टेन्सन ठिक देखिएन ।’
जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य पनि कार्यसमिति बैठकमा पिसिआर टेस्टबारे कुरै नउठेको बताउँछन् । जनमोर्चाका सांसद कृष्ण थापा पनि पिसिआर परीक्षण स्वास्थ्यका लागि राम्रै भएपनि संसदअवरुद्धै गनुनपर्ने धारणा राख्छन् । उनले भने, ‘आजै दिनभरि त बसिसक्यौं । एकैछिन बैठक सकेको भए केही हुने थिएन ।’
प्रशासनको निषेधाज्ञा लत्याउँदै प्रदेश सभा !
सभामुख भन्छन् – निषेधाज्ञाले प्रदेश सभा बैठकलाई असर गर्दैन
जिल्ला प्रशासन कार्यालयले बुधबारबाट कास्कीमा अत्यावश्यक कामबाहेक सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जारी निषेधाज्ञाअनुसार बुधबारदेखि २१ गतेसम्म कुनै पनि सभा, सम्मेलन, बैठक नगर्न भनिएको छ ।
तर, प्रशासनको आदेशविपरीत अहिले प्रदेश सभामा विशेष अधिवेशन चलिरहेको छ । बुधबार पनि प्रदेश सभा बैठकमा मुख्यमन्त्रीविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमा मतदान हुने कार्यसूचि छ ।
जिल्ला प्रशासन कार्यालयको आदेशलाई लत्याउँदै गण्डकीमा भने निषेधाज्ञाअवधिमा पनि प्रदेश सभा बैठक सञ्चालन गर्ने भएको छ । प्रदेश सभा सभामुख नेत्रनाथ अधिकारी प्रशासनको निषेधाज्ञाले बैठकलाई फरक नपर्ने ढोरपाटनलाई प्रतिक्रिया दिएका छन् ।
‘आदेशले प्रदेश सभा बैठकलाई असर गर्दैन । त्यसैले अहिले हामी सबैको पिसिआर परीक्षण गर्दैछौं,’ उनले भने, ‘आज पिसिआर गरेर नेगेटिभ आएका माननीय बस्ने, पोजेटिभ आएका माननीय बैठकमा नबस्ने कुरा छ ।’
नेकपा एमालेले पिसिआर परीक्षण माग गर्दै संसद अवरुद्ध गरेपछि प्रदेश सभा सचिवालय कर्मचारी, प्रदेश सभा सदस्य, सुरक्षाकर्मी, चालकदलसहित करिब २ सय भन्दा बढीको पिसिआर परीक्षण भएको छ । उनीहरुको बुधबार बिहान १० बजेसम्म नतिजा आइसक्ने सभामुख नेत्रनाथ अधिकारीको दाबी छ ।





