काठमाडौं, २२ वैशाख – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् ।
माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यहरूको मंगलबारको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो ।
माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा बुझाएको समर्थन फिर्ता पत्रमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने असंवैधानिक कदम चालेको, मुलुकका राष्ट्रिय मुद्दालाई सौदावाजीको विषय बनाएको तथा कोरोना महामारी नियन्त्रणमा असफल भएको’ आरोप लगाएको छ ।
माओवादी केन्द्रले ओलीले राष्ट्रिय मुद्दालाई सौदाबाजीको विषय बनाइ देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाउँदै लगेको समेत बताएको छ । साथै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक र संसदीय मान्यता विपरित आदेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत् हुँदै गएकाले सरकारलाई दिएको समर्थन फिर्ता गरेको उल्लेख छ ।







