काठमाडौं, २६ वैशाख – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत नदिने जानकारी गराएका छन् । आइतबार विहान नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर ठाकुर र महतो बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले विश्वासको मत मागेका थिए । ‘हामीले विश्वासको मत दिन सक्दैनौं, किनकी हाम्रा मागमुद्दा पुरा भएका छैन भन्यौं’ जसपा नेता महतोले भने ।
जसपा नेताहरुले अहिलेसम्म सबै मुद्दा समेत फिर्ता हुन नसकेको बताएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले अदालतबाट अनुमति लिनुपर्ने भएकाले समय लागेका बताएका थिए । जसपा नेताद्धय ठाकुर र महतोले भने केही माग पुरा भएकाले प्रधानमन्त्री ओलीको विपक्षमा भने आश्वासन दिएका छन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि सोमबार विशेष अधिवेशन बोलाइएको छ । प्रधानमन्त्री ओलीको दल एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।
६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ भने ४९ सांसद भएको माओवादी केन्द्रले हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन । संसदको अंकगणितमा निर्णायक ३२ सांसद भएको जसपा थियो । जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ । महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले पनि मत नदिने बताएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का भएको छ ।





