पोखरा, २७ वैशाख – नेपाल प्रहरीले देशभर अक्सिजन सिलिनडर संकलन अभियान सुरु गरेको छ । अभियान अन्तर्गत हालसम्म प्रहरीको सक्रियतामा ५ हजार ४ सय ३२ थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ । जसमा १ हजार ४ सय ४१ भरीएको सिलिन्डर रहेका छन भने ३ हजार ९ सय ९१ खाली सिलिन्डर रहेका छन् ।
संकलित सिलिन्डरमध्ये ४ हजार ५ सय ८९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई सहयोग गरिएको हो भने बाँकी रहेका ८ सय ४३ अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखीएको छ । उक्त सिलिन्डर आवश्यकता अनुसार वितरण गरिनेछ ।
आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।
नेपालमा पनि अक्सिजनको अभावले संक्रमितको मृत्यु हुन थालेपछि प्रहरीले अभियान चलाएको हो । कोरोना महामारीको समयमा अक्सिजनको अभावले संक्रमितको मृत्यु नहोस भन्ने लक्ष्यका साथ अभियान संचालन गरेको हो । स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भईरहेको छ । जथावाभी तवरबाट स्टक गरी प्रहरी कारबाहीमा फेला परेमा सम्बन्धित व्यक्ति वा निकायउपर प्रचलित ऐन कानुन बमोजिम कारबाही समेत हुनेछ ।
यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।





