
काठमाडौं, ३० वैशाख – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको छ ।
पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला ओली र नेपालबीच भेटवार्ता तय भएको हो । बिहीबार बिहान एमालेको स्थायी कमिटीले नेपाल सहित उनको समूहका ४ जना नेताको कारबाही फिर्ता लिएको थियो । बैठकबाटै ओलीले नेपाललाई फोन गरेका थिए ।
राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा आजै समाप्त हुँदैछ । त्यसअघि नै ओलीले नेपालसँग वार्ता गरेका हुन् । संसदमा ओलीले विश्वासको मत लिने प्रस्ताव गर्दा नेपाल समूहका २८ सांसद अनुपस्थित भएका थिए ।
आजै नेपालले राजीनामापछि उत्पन्न हुने संवैधानिक र कानूनी प्रक्रिया तथा सरकार गठनका सन्दर्भमा कानून व्यवसायीसँग छलफल गरेका थिए । सो छलफलमा संविधानको धारा ७६ को उपधारा २, ३ र ५ बमोजिम सरकार गठनको संवैधानिक प्रक्रियामाथि नै कुराकानी भएको नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले बताए ।
भट्टराईले भने, संविधानको धारा ७६ को ५ बमोजिम गठन हुने सरकार हाम्रो सन्दर्भमा नौलो अभ्यास पनि हो । त्यसमा पुग्दा हरेक सांसदको स्वतन्त्र अस्तित्वको कुरा पनि आउँछ र ह्वीप पनि लाग्दैन । राजीनामा दिनुस् वा नदिनुस् भन्ने हाम्रो कुरा होइन, उहाँहरूको राजनीतिक निर्णय हो । तर, एमाले मिल्दा राम्रो हुन्छ भन्ने त स्वभाविक हो ।





