नवलपुर, ३ जेठ– नवलपुरको देवचुलीमा रहेको एक वडाले वडाभित्रका अटो चालकलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । वडा नंबर ९ मा रहेका २२ मध्ये ८ जना चालकलाई पीपीई फेससिल्डलगायतका सामग्री वितरण गरिएको हो ।
नगरमा एम्बुलेन्स सीमित संख्यामा मात्रै छन्, बिरामीहरुले समयमै एम्बुन्सेन नपाउन सक्छन्’,वडाध्यक्ष मेखबहादुर थापाले भने,‘ संकटमा स्थानीयस्तरमै उपलब्ध साधनलाई परिचालन गर्न यो अभियान चालिएको हो ।’ देवचुली ९ मा हालसम्म एकजना संक्रमितको ज्यान गइसकेको छ भने संक्रमितहरु बढ्ने क्रममा छन् ।
उनका अनुसार अटो व्यवसायीहरुले पुरानै भाडा दरमा बिरामी बोक्न सहमति जनाएका छन् ।
स्थानीय स्तरमा तुरुन्त सेवा प्राप्त हुने र दैनिक आम्दानीको भरमा जीवन गुजार्ने अटो चालकलाई पनि राहत पुग्ने भएकोले अटोलाई प्रोत्साहित गरिएको उनले बताए ।
कावासोतीमा अटो एम्बुलेन्स प्रभावकारीः थपिए फेरी २ अटो
जिल्ला सदरमुकामस्थित कावासोती नगरपालिकामा संचालित अटो एम्बुलेन्स सेवालाई जनताले मन पराएका छन् । नगरमा ३ वटा अटो रिक्सालाई बिरामी बोक्ने गरी ‘अटो एम्बुलेन्स’ बनाइएको थियो । सेवा प्रवावकारी भएसँगै २ वटा अटो रिक्सा थपिएको छ ।
भनेको बेला एम्बुलेन्स उपलब्ध हुन नसक्दा अप्रिय घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नगर विपद ब्यवस्थापन समितिले अस्थायी अटो एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । विपत व्यवस्थापन समितिका संयोजक एवं उपप्रमुख पे्रमशंकर मर्दनियाका अनुसार सेवाग्राहीका लागि अटो एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराइएको छ । अटो संचालकलाई यसको एकमुष्ट शुल्क नगरपालिकाले उपलब्ध गराउँछ ।
स्कुल भ्यान अस्थायी एम्बुलेन्सका रुपमा
कोरोना संक्रमित बोक्नको लागि यहाँका २ निजी विद्यालयले भ्यान उपलब्ध गराएका छन् ।
कावासोतीमा रहेको वाइज भिजन बोर्डिङ स्कुलका प्रिन्सिपल तिलकचन सापकोटा आफैले बिरामीलाई अस्पतालसम्म पु¥याउने र फर्काउने गरेका छन् । यस्तै देवचुलीको पाठशाला मन्टेश्वरीले चालकको व्यवस्था मिलाएर अस्थायी रुपमा बिरामी बोक्नका लागि स्कुल भ्यान प्रयोगमा ल्याएको छ । सेवा निःशुल्क हुन् ।





