पोखरा, ५ जेठ– गण्डकी प्रदेशमा कोरोनाबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५२ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका ८ जना छन् । त्यस्तै, स्याङजाका ७, पर्वत र तनहुँमा ५÷५, गोखराका ३ र नवलपुरका २ जना छन् । मृत्यु हुनेमा ३० देखि ९२ उमेर समूहका रहेको निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए ।
प्रदेशभर पछिल्लो एक दिनमा ६ सय ८८ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार ६ सय ८८ पुगेको छ । त्यसमध्ये सक्रि संक्रमितको संख्या ९ हजार २ सय ७१ छ ।
डा शर्माका अनुसार पछिल्लो २४ घन्टामा गण्डकीमा कोरोनालाई ५ सय ६७ जनाले परास्त गरेका छन् । योसँगै प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या २० हजार ९ सय ६५ पुगेको छ ।





