शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मापदण्ड पालना गर्दै फिल्डमा खटिंदै संक्रमित स्वास्थ्यकर्मी

मापदण्ड पालना गर्दै फिल्डमा खटिंदै संक्रमित स्वास्थ्यकर्मी

स्वास्थ्य कार्यालयका अनुसार बागलुङका विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा गरी १६ जना कोरोना संक्रमणमा परेका छन् ।


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ ६ २०७८, बिहिबार

बागलुङ, ६ जेठ– गलकोट नगरपालिका वडा नं. ७ मल्म स्वास्थ्य चौकीमा कार्यरत अनमी अनिता कार्कीलाई बैसाख २३ गते कोरोना संक्रमण भयो ।
संक्रमणका कारण उनी होम आइसोलसनमा बसेकी थिइन् । उनले आफ्नो पहिचान गोप्य राख्न पाइनन् । बरु संक्रमण भएकै बेला स्वास्थ्य चौकीबाट दिने सेवामा खटिनु प¥यो । सात दिन नबित्दै कार्यालय गएर काममा खटिनु प¥यो ।
उनले पीपीई लगाउने र स्वास्थ्य मापदण्ड पालना गर्दै बिरामीलाई औषधि वितरण गरिन् । ‘काम त जोखिम थियो तर समयमा औषधि नखुवाए उनीहरुको जीवन पनि जोखिममा परेपछि मापदण्ड पालना गरेर खुवायौं’ कार्कीले भनिन्, ‘मैले पहिचान खुलाएको थिए, ती बिरामीहरु गोप्य रुपमा औषधि खाएकाहरु हुन् ।’ स्वास्थ्यकर्मी भएकोले कोरोना संक्रमणमा परेपनि नियमित डिउटी गर्नुपरेको उनले बताइन् ।
स्वास्थ्य चौकीमा तीन जना मात्रै स्वास्थ्यकर्मी छन् । उनीहरुले नियमित प्रशासनिक काम, ओपीडी, इमरजेन्सी सेवा संचालन गर्नुपर्छ । गर्भवती तथा सुत्केरी भेट र सेवा प्रवाह गर्नुपर्छ । गाउँघर क्लिनिक, परिवार नियोजन सेवा र अहिले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको भेट गर्नुपर्ने बाध्यता छ । ‘घरमै बस्न त मन थियो, जिम्मेवारीले बाहिर निस्कन लगायो’ उनले भनिन् ‘भित्रै बस्न पाउनेहरुले जथाभावी नहिँडे हुन्थ्यो ।’ स्वास्थ्य कार्यालयका अनुसार बागलुङका विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा गरी १६ जना कोरोना संक्रमणमा परेका छन् ।
कार्की मात्र हैन जैमिनी नगरपालिका–१ का स्वास्थ्यकर्मी संक्रमित भएपछि केही दिन स्वास्थ्य कार्यालयनै बन्द गरियो । तर सेवा प्रवाहमा समस्या आएपछि फेरी संचालन भयो । बडिगाड गाउँपालिकाका कर्मचारीमा संक्रमण देखिएपछि पालिका र स्वास्थ्य कार्यालय बन्द गर्ने तयारी थियो । तर संक्रमणले गाउँभरी आक्रान्त पारेकोले संक्रमितले मात्रै आइसोलेसन बसेर अन्यले सेवा प्रवाह गर्ने निर्णय भयो । संक्रमित कर्मचारी पनि केही दिन आइसोलेसन बसेपछि काममा खटिए ।
पछिल्लो समय बागलुङको ग्रामीण क्षेत्रमा संक्रमण बढेको छ । ग्रामीण क्षेत्रमा भएका भोजभतेर र भेलामा मापदण्ड पालना नगर्दा घर घरमा संक्रमण भित्रिएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । ‘मापदण्ड पालना गर्ने हो भने चेनब्रेक हुन समय लाग्दैन’ घिमिरेले भने, ‘मापदण्ड उल्लंघन गर्दा संक्रमणको लहरो बढी रहेर नियन्त्रणमा कठिन भएको हो ।’
दुई सातादेखि जिल्लाभर निशेधाज्ञा छ । निशेधाज्ञा उलंघन गर्दा प्रशासनले कडा कारवाही गर्न सक्छ । संक्रामक रोगका कारण निशेधाज्ञा लगाएकोले यतिबेलाको निशेधाज्ञा उलंघन गर्दा स्थानीय प्रशासन ऐनबाहेक संक्रामक रोग ऐनसमेत आर्कषण हुन्छ । तरपनि मापदण्ड पालना गर्ने र लकडाउनमा घरभित्रै बस्ने क्रम भने नरोकिएकोले संक्रमण घटाउन कठिन भएको स्वास्थ्य कार्यालयको निष्कर्ष छ ।
बजार क्षेत्रमा तरकारी, खाद्यान्न लगायतका पसलमा गरिने भीडले संक्रमण फैलाउन असर गरेको बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालको टिप्पणी छ । ‘संक्रमित भएकोले पनि लखर लखर हिडेको भेटेर गाली गरेपछि मात्रै घरभित्र बस्न थालेका छन्’ खनालले भने, ‘संक्रमणमा परेर घरमा बस्न खोजेका स्वास्थ्यकर्मीले अस्पतालमा बिरामीको सेवा गर्न बाध्य भएका छन् ।’
आँफू पनि जोगिने, बिरामीको सेवा पनि गर्न बाध्यता भएकाहरु धेरै भएको उनले बताए । खोप लगाएको कारण संक्रमणमा परेर पनि स्वास्थ्यकर्मी गम्भीर बिरामी भने परेका छैनन् । तर जुनसुकै समयमा खतरा हुने भएकोले जोखिम मोलिरहेको उनले बताए । चाहेर पनि आइसोलेसन बस्न नपाएका स्वास्थ्यकर्मीको पीडाबाट सबैले मापदण्ड पालना गर्नुपर्ने उनले सुझाव दिए ।

यो पनि पढ्नुस्: संक्रमितको परिवारका स्वास्थ्यकर्मीलाई समुदायमा अवहेलना

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->