बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

राष्ट्रिय सभा उपनिर्वाचन आज, परिणाम पनि आजै आउने

राष्ट्रिय सभा उपनिर्वाचन आज, परिणाम पनि आजै आउने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७८, बिहिबार

काठमाडौं, ६ जेठ – राष्ट्रियसभामा रिक्त पदका लागि बागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको समर्थनप्राप्त एमाले माधव नेपाल समूहका खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् । यी दुवै नेकपा एमालेका भएकाले निर्वाचन परिणामलाई चासोका साथ हेरिएको छ ।

बादललाई सूर्य निर्वाचन चिह्न प्रदान गरिएको छ भने देवकोटा कलम चुनाव चिह्नबाट निर्वाचन लड्दैछन् । संघीयताविज्ञ देवकोटालाई कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूहको समर्थन छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उपनिर्वाचनको परिणाम आजै आउन सक्ने बताए । ‘कुनै प्राविधिक समस्या आएन भने मतपरिणाम आजै आउँछ,’ उनले भने ।

उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । वाग्मती प्रदेशसभा सदस्य ११० जना छन् । प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना छन् । यसरी जम्मा मतदाता ३४८ रहेकाले गणना गर्न धेरै समय नलाग्ने निर्वाचन आयोगका अधिकारीहरु बताउँछन् ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मकवानपुरको हेटौंडास्थित भुटनदेवी मावि निर्वाचन केन्द्रमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->