
पोखरा, ७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु अपरिहार्य भएको बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कदमको बचाउ गरे । जेठ १५ गते बजेट र त्यसभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भन्दै उनले भने, ‘७६(५) मा जानुपर्ने भएकाले मार्गप्रशस्त गर्नु समयको चाप र परिस्थितिका हिसाबले उचित मात्र होइन, अपरिहार्य भइसक्यो ।’
प्रधानमन्त्री ओलीले संसद छलेर सरकार गठन गर्न नचाहेकाे पनि बताए । उनले भने,‘संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन, बजेटको चाप र विश्वासको मत नपाउने भएर हो ।’
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भएकोप्रति असन्तुष्टि जनाए । राष्ट्रपति गणतन्त्रको प्रतीक हो भन्दै उनले राष्ट्रपतिको विरोध गर्नेहरुले गणतन्त्रलाई कमजोर बनाउन खोजेको दावी गरे । ‘राष्ट्रपतिको हुर्मत लिने काम, राष्ट्रपति अपमान गर्ने काम राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भयो’ उनले भने ‘आफ्नो अनुकुल भएन भनेर …।’
ओलीले विरोध गर्नेहरुले राष्ट्रपतिको संवैधानिक काम कर्तव्य नबुझेको दावी गरे । ‘मैले गरेको सिफारिसप्रति म जवाफदेही छु । अहिले पनि म जवाफदेही छु । राष्ट्रपतिलाई दोष किन ?’
उनले आफ्नो कदमको अदालतले ब्याख्या गर्ने पनि जिकिर गरे । ‘संविधानको ब्याख्या गर्ने, स्वतन्त्र न्यायपालिका होला पहिले पनि ब्याख्या गरेको देखकै हो’ उनले भने ।
ओलीले विपक्षीहरूलाई वैकल्पिक सरकार बनाउन चुनौती दिए । ‘वैकल्पिक सरकार बनाए भयो, वैकल्पिक सकार बने म स्वागत गर्छु,’ उनले भने, ‘तपाईँहरू वैकल्पिक सरकार बनाउनुहोस् मेरो रचनात्मक सहयोग रहने छ ।’
ओलीले आफूले आजै कांग्रेस सभापति शेबहादुर देउवालाई फोन गरेर राष्ट्रिय सरकार मिलेर बनाउन आग्रह गरेको बताए । ‘आज बिहान मैले शेरबरहादुर देउवालाई फोन गरेर भनेँ- तपाईँहरू सरकार बनाउनुहोस् । होइन, भने आउनुहोस् मेरो नेतृत्वमा राष्ट्रियस सरकार बनाउँ न त!’ उनले भने ।
ओलीले आफूलाई सर्मथन गरे संसद विघटन नहुने समेत बताए । ‘सक्नुहुन्न भने मलाई सर्मथन गर्नुहोस्,’ उनले भने, ‘कसले विघटन गर्न खोज्यो संसद ? मलाई सर्मथन गर्नुहोस् । महामारीका बेला सबै सरकारमा सहभागी होऔं । यस्तो बेलामा हामी सबै मिलेर कोभिड-१९ विरुद्ध लडौँ । तपाईँहरू वैकल्पिक सरकार बनाउनुहोस्, रचनात्मक भूमिका हाम्रो हुनेछ ।’





