पोखरा, ८ जेठ – वैशाख ४ गते पोखरा लेकसाइडमा निर्घात कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका आरोपितलाई कास्की जिल्ला अदालतले २ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ भने एक जनालाई बाल सुधार गृहमा राखेको छ ।
काडमाडौंबाट पोखरा आएका १८ वर्षीय नुभिव उप्रेतीको पोखरा ७ घारीपाटन बस्दै आएका आशिष राई, बिगेन गुरुङ र बासुदेव गुरुङले कुटपिट गरी फेवातालमा फालेका थिए । नुभिव मृत अवस्थामा वैशाख ४ गते फेवातालमा फेला परेका थिए । उनीहरुबीच पहिले लेकसाइडकै ट्रेजर लाउन्ज बारमा झगडा भएको भनिएपनि लेकसाइडको गल्ली १३ को बीच सडकमै ३ जनाले निकै कुटेको देखिन्छ ।
नुभिवकी आमाले छोराको हत्या भएको भन्दै वडा प्रहरी कार्यालय बैदाममा उजुरी दिएपनि आत्महत्या भन्दै उजुरी लिन मानेको थिएन । तेस्रो पटक जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपश्चात घटना बाहिर आएको हो । आमा भगवती कुमारी मैनाली उप्रेती (भीमा) ले आफ्नो छोराको हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । कास्की जिल्ला अदालतका न्यायधिश कृष्ण भट्टराइको एकल इजलासले २ जनालाई पुर्पक्ष र १ जनालाई सुधार गृहमा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
जिल्ला अदालतमा ३ गते मुद्दा दर्ता गराइएको थियो । न्यायधीश भट्टराईले ४ गते नै पुर्पक्ष र सुधार गृहमा राख्न आदेश जारी गरेको हो । तालमा फेला परेको मृत नुभिवको घाँटीमा दाग, तीघ्रा,गुप्तांगमा रगत, टाउकोमा चोट देखिएको थियो । शरीरमा चोट देखेको कारण परिवारले आत्महत्या नभई हत्या भएको बताउँदै आएको थियो ।





