पोखरा, ८ जेठ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री केपी ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको आरोप लगाएका छन् । नेपालले शनिबार विज्ञप्ति जारी गर्दै ओलीको प्रतिनिधिसभा भंग गर्ने कदमले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका लागि विगतमा जनताले बगाएको रगत र पसिना तथा सहिदहरुको त्यागको घार अपमान भएको समेत बताएका छन् ।
नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अनुचित साँठगाँठ गरेर प्रतिनिधि सभा भंग गरेको पनि बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले नयाँ सरकार निर्माणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा प्रतिनिधि सभाका १४९ सदस्यहरु स्पष्ट बहुमत रहेको यथार्थलाई वेवास्ता गर्दै प्रधानमन्त्री नियुक्त गर्नुको साटो संवैधानिक प्रावधान कुल्चेर प्रतिनिधि सभा भंग गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
नेता नेपालले ओलीको संसद विघटन गर्ने दलहरुलाई फुटाउने र संविधा,नमाथि आघात पर्ने अलोकतान्त्रिक कदम २०७७ साल बैशाखबाटै सुरु गरेको समेत बताएका छन् ।
विज्ञप्तिमा नेता नेपालले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको लोकतन्त्र र संविधान विरोधी कदमको निन्दा गर्दै देश, जनता र लोकतन्त्र खतरामा परिरहेको जटिल परिस्थितिमा नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन,पार्टी विधान र लोकतन्त्र पक्षधर नेता, कार्यकर्ता र सदस्य शुभेच्छुकहरुलाई दृढताका साथ एकतावद्ध भइ प्रतिगमनविरुद्ध अघि बढ्न आग्रह गरेका छन् ।






