काठमाडौं, १० जेठ – नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।
बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ, माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का समेत छन् ।
त्यस्तै एमालेले थप १२ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बैठकले नेता सुरेन्द्र पाण्डेसहित १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । थप स्पष्टीकरण सोधिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।
हेर्नुहोस एमालेको विज्ञप्ती :






