
पोखरा, १२ जेठ – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पतालमा रहेका बिरामी र आफन्तलाई एकद्धार प्रणालीबाटै खाना खुवाउनुपर्ने धारणा राखेका छन् । गण्डकीका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग बुधबार भएको भर्चुअल बैठकमा उनले भने,‘ निजी क्षेत्र र पार्टीहरुको सहयोग लिनोस् । खाना खुवाउने कुरामा एकद्वार प्रणाली नै उपयुक्त हुन्छ ।’
विभिन्न संघ÷संस्था र राजनीतिक दलले संचालनमा ल्याएको निःशुल्क खाना खुवाउने अभियान प्रशासनले रोकेकै बेला मुख्यमन्त्रीको सो धारणा सार्वजनिक भएको हो । उनले समाज र मानिसहरु दु:खी र आत्तिएको अवस्थामा भएको स्वीकार्दै सरकार छ अनि सहयोग भइरहेको कुरामा विश्वस्त बनाउन सिडिओहरुलाई निर्देशन पनि दिएका छन् । सचेतना बढाउनुपर्नेमा मुख्यमन्त्रीको विशेष जोड छ ।
मुख्यमन्त्री गुरुङले जिल्ला संकट व्यवस्थापन समिति (डिसिएमसी)लाई मास्क लगाउन अनिवार्य गराउन, एम्बुलेन्सको व्यवस्थापनमा ध्यान दिन, अक्सिजनको कमी हुने अवस्था सृजना नगर्न, फिल्डमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको खानपिनमा ध्यान पु¥याउन निर्देशन गरेका छन् । उनले विकास र निर्माणका कामलाई सुरक्षा सावधानीसहित जारी राख्न,डाक्टर र स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनु, जनतासँग नरम व्यवहार गर्न सुझाएका छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाबको नमुना प्राप्त भएको २४ घन्टामा पिसिआरका रिपोर्ट उपलब्ध गराइने उनको प्रतिवद्धता छ । औषधि स्टकबारे सचेत रहन निर्देशन दिँदै उनले भनेका छन्, ‘अस्पतालमा विभिन्न तरिकाबाट हुने ठगी र दलालीलाई निगरानी र नियन्त्रण गर्नुहोस् ।’ सम्भावित थर्डवेभको तयारीमा के गर्न सकिन्छ भन्ने सुझाव मागेका मुख्यमन्त्रीले स्थानीय सरकारसँग व्यापक समन्वयमा जोड पनि दिएका छन् । बर्खा लाग्न थालेकाले बाढी–पहिरोबारे सचेत रहन पनि उनको आग्रह छ ।




