सामाजिक विकास मन्त्रालयको लापरवाही यतिसम्म भयो कि विदेशमा रहेको व्यक्तिलाई परिषद्को उपाध्यक्ष बनाइयो ।
पोखरा, १८ जेठ – गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश खेलकुद परिषद् गठन ग¥यो । तत्कालीन प्रदेश सामाजिक विकास मन्त्रालयले तेज गुरुङ सदस्य सचिव रहने गरी सामाजिक विकास मन्त्री नरदेवी पुनको अध्यक्षतामा प्रदेश खेलकुद परिषद्को गठन ग¥यो ।
खेलकुदको क्षेत्रमा फड्को मान्ने सोचिएको गण्डकी प्रदेशमा उही पुरानै खेलकुदको वेथिति दोहोरिँदै गयो । प्रदेशले गठन गरेको परिषद्देखि जिल्लासम्म पदाधिकारी आउँदा खेलकुदमै जीवन बिताएका पूर्व खेलकर्मीहरु फेरि पनि पाखा लगाइए । पदाधिकारी गठनको समयमा गरिएको मनोनयनप्रति खेलकर्मीनै सन्तुष्ट देखिएनन् । राजनीतिक पहुँच भएकाले मात्र खेलकुदमा स्थान पाए खेलाडी र वास्तविक नेपाली खेलकुदमै उमेर फालेका भने नागिंए ।
सामाजिक विकास मन्त्रालयको लापरवाही यतिसम्म भयो कि विदेशमा रहेको व्यक्तिलाई परिषद्को उपाध्यक्ष बनाइयो । हाल लन्डनमा रहेका म्याग्दीका नारायण पुनलाई उपाध्यक्ष बनाइयो । पुन मन्त्री नरदेवी पुनमगकै जिल्लाबासी हुन् । नियुक्ति गरिएपनि हालसम्म उनी सपथ खान भने आइपुगेका छैनन् ।
गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले विदेशमा भएका व्यक्तिलाई नियुक्ति दिनु गलत भएको बताए । उनले भने, ‘लन्डनमा भएको मान्छे कसरी उपाध्यक्ष भयो ? लन्डनमा भएको व्यक्तिलाई किन उपाध्यक्ष बनाएको ?’ उनले प्रश्न गरे । मन्त्री गुरुङले यदि एनआरएन कार्ड भएको व्यक्ति भएको खण्डमा उनलाई वर्खास्त गर्नुपर्ने बताए । सोमबार पोखरा रंगशलामा निमार्णधिन खेलकुद परिषद् भवन निरीक्षण गर्ने क्रममा उनले उपाध्यक्षमा पुनः नियुक्ति गर्नुपर्ने बताए ।





