
पोखरा, १८ जेठ – कोरोना संक्रमणबाट पोखराका दुई हस्तीको निधन भएको छ । अर्थशास्त्री डा.गोविन्द थापा र संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको हो । डा. थापाको मंगलवार विहान काठमाडौंमा र संस्कृतिकर्मी गुरुङको सोमवार राती पोखरामा निधनको हो ।
कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो। उपचारको क्रममा थापाको मंगलबार बिहान गंगालाल अस्पतालमा निधन परिवारले जनाएको छ ।
पोखरा-८ नयाँबजारका स्थायी बासिन्दा थापा नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त कार्यकारी निर्देशक हुन् । उनी २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको एमालेको नौ महिने सरकारमा अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार थिए । पछि नेकपा (एमाले) को अर्थ तथा योजना विभाग सचिवसमेत भए । हाल काठमाडौंको बसुन्धरामा बस्दै आएका थापाका श्रीमती, २ छोरा र १ छोरी छन् ।

संस्कृतिकर्मी मेनकाजी गुरुङ
हिमाली सांस्कृतिक परिवार पोखराका अध्यक्ष संस्कृतिकर्मी गुरुङको मुटुको उपचारको क्रममा सोमबार राति फिस्टेल हस्पिटल पोखरामा निधन भएको हो । ३ साता अघि काेराेना संक्रमणबाट मुक्त भए पनि उनमा मुटुको समस्या देखिएको थियो ।
गुरुङका पत्नी मीनाको कोरोना संक्रमणकै कारण वैशाख ३० मा निधन भएको थियो । पोखरा नयाँगाउँ बस्दै आएका गुरुङका १ छोरा र १ छोरी छन् ।
दुवै जनाको निधनप्रति दुःख ब्यक्त गर्दै विभिन्न संघ, संस्था, नेता र संस्कृतिकर्मीहरुले श्रद्धासुमन ब्यक्त गरेका छन् ।





