बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

सुरेन्द्र-घनश्यामको ब्रिफिङ: एकताका लागि इमान्दार प्रयत्नमा छौं

सुरेन्द्र-घनश्यामको ब्रिफिङ: एकताका लागि इमान्दार प्रयत्नमा छौं


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७८, बिहिबार

काठमाडौं, २० जेठ – नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको भर्चुअल बैठकमा एमाले नेता सुरेन्द्र पाण्डे र घनश्याम  भुसालले आफुहरुले पार्टी एकताका लागि इमान्दार प्रयत्न गरेको भन्दै ‘शंका’को दृष्टिले नहेर्न आग्रह गरेका छन् ।

केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा  नेताद्वय भुसाल र पाण्डेले एकता–प्रयासबारे विभिन्न टिप्पणी भइरहेको भन्दै त्यसको प्रष्टीकरण दिएको एक नेताले जानकारी दिए । ‘हामीले कम्युनिस्ट आन्दोलनको रक्षा हुन्छ । पार्टी एकता जोगिन्छ भनेर वार्ता गरेका हौँ । यो प्रयास केवल देखाउनका लागि नभएर हाम्रोतर्फबाट इमान्दार प्रयास पनि हो,’ नेताद्वय भुसाल र पाण्डेका आशय उद्धृत गर्दै ती नेताले भने, ‘हामीले माधव कमरेडसँग छलफल गरेर नै, सबैकुरा जानकारी गराएर नै गरेका हौँ । एकता बच्छ भने पहल किन नगर्ने त भन्ने हाम्रो प्रश्न हो ।’

ओली पक्षसँग अझै वार्ता, संवादको सम्भावना देखाउँदै कथम् नमिले के गर्ने भन्नेमा आफू प्रष्ट रहेको उनीहरूको जोड थियो । ‘मिल्दै मिलेन भने हामीले गर्नुपर्ने निर्णय छँदैछ । त्यसका लागि आधार पनि छँदैछ तर हाम्रोतर्फबाट इमान्दार कोसिस रहोस् भन्ने मात्रै हाम्रो अभिप्रायः हो ।’

बैठकमा वरिष्ठ नेता खनाल र नेपालले केन्द्रीय सदस्यहरुलाई पार्टीको पछिल्लो अवस्थाको वारेमा ब्रिफिङ गरेका थिए । भर्चुअल  बैठकमा अहिले केन्द्रीय सदस्यहरू बोलिरहेका छन् ।

वार्ताका लागि विश्वसनीय वातावरण छैन: रावल

भीम रावलले भने ओली पक्षसँग संवाद, छलफलको वातावरण नभएको भनाई राखेका थिए । उनले ओली पक्षले एकातिर कारबाही गर्ने, स्पष्टीकरण सोध्ने अलि छलफल पनि गर्ने विरोधाभास कार्य गरिरहेको उनको भनाइ थियो । ‘म वार्ताको विरोधी होइन । वार्ता हुनुुपर्छ । तर, एकातिर स्पष्टीकरण सोध्ने, कारबाही गरेर हटाउने अनि वार्ता गर्ने ? यो कसरी हुनसक्छ । यसले एकताको रक्षा गर्छ कि भत्काउँछ ? मेरो सवाल यहाँनेर हो,’ रावलको भनाइ उद्धृत गर्दै ती नेताले बताए । ओली पक्षले वार्ता गर्नै चाहेको हो भने पहिला वातावरण बनाउनु पर्ने उनको जोड थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->