काठमाडौं, २३ जेठ- प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाइकालागि संवैधानिक इजलास पुर्नगठन भएको छ । पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन्, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् ।
प्रधान न्यायाधीशको नेतृत्वमा गठन गरिएको इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेको मध्येका वरिष्ठ हुन् । बरिष्ठताका आधारमा इजलास गठन गर्दा विश्वम्भर श्रेष्ठ र हरिकृष्ण कार्की भने छुटेका छन् । विश्वम्भर स्वास्थ्यका कारणले छुटेका हुन् । उनी पुस ५ मा संसद विघटन भएका बेला संवैधानिक इजलासमा सहभागी थिए ।
त्यस्तै बरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा बस्न अस्वीकार गरेका छन् । अघिल्लो संसद विघटनका बेलामा पनि स्वार्थ बाझिने भन्दै विरोध भएपछि कार्की आफैं पछि हटेका थिए । न्यायाधीश कार्कीले अघिल्लो पटक संसद विघटन भएको मुद्दामा ‘हेर्न नमिल्ने’ राय दिएर इजलासबाट आफूलाई बाहेक गरेका थिए ।
बरिष्ठतामा रहेका श्रेष्ठ र कार्की इजलासमा नपरेपछि त्यो भन्दा मुनिको बरियतामा रहेका ईश्वर खतिवडा र डा. आनन्दमोहन भट्टराई संवैधानिक इजलासमा छानिएका हुन् ।





