पोखरा,२७ जेठ– नेपाल पत्रकार महासंघ कास्की शाखाले जिल्लामा कार्यरत सञ्चारकर्मीहरुलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । शाखा अध्यक्ष विमला भण्डारीले विज्ञप्ति जारी गरी आम नागरिकसहित फ्रन्टलाइनर पत्रकारहरुलाई पहिलो प्राथमिकतामा राखेर तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन तीनै तहका सरकारसमक्ष माग गरेकी हुन् ।
जिल्लामा क्रियाशील रहेका पत्रकारहरु कोरोनाविरुद्धको खोपको पर्खाइमा रहेको महासंघले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको तेस्रो तथा चौथो लहर आउन सक्नेतर्फ सचेत गराइसकेको र उच्च जोखिममा रहेको सञ्चार जगत र आम नागरिकलाई कोरोना विरुद्ध खोपको आवश्यकता टड्कारो बनेको महासंघको ठहर छ ।
कोरोना संक्रमणका कारण पत्रकार कास्कीका क्रियाशील र जुझारु एक पत्रकारलाई गुमाउन बाध्य भएको ,संक्रमण सुरु भएयता ४७ जना पत्रकारहरु संक्रमित भएको र कतिपय संचारकर्मीहरु अहिलेपनि विभिन्न अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।
नयाँ भेरियन्टको रुपमा कोभिड १९ को दोस्रो लहर सुरु भए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कास्कीलाई उच्च जोखिम जिल्लाको सूचीमा सूचीकृत गरेको र सो अवस्था अहिलेपनि यथावत रहेपनि राज्यको चौथो अंग सञ्चारकर्मीहरु जनताको सुसूचित हुने अधिकार प्रत्याभूत गर्न महामारीबीचमा पनि निरन्तर आफ्नोे कार्य क्षेत्रमा खटिएको अध्यक्ष भण्डारीले बताइन् ।
कोरोना संक्रमणका कारण अहिलेसम्म देशभर २० जना पत्रकारले ज्यान गुमाईसकेका छन । अहिलेपनि झण्डै २ हजार पत्रकार कोरोना संक्रमित भई विभिन्न अस्पताल र होम आईसोलेसनमा रहेको बताइन्छ ।





