पोखरा, ७ असार– कास्कीमा असार १५ गतेसम्म निषेधाज्ञाको समयसीमा बढाइँदा निजी सवारीलाई जोर–बिजोर प्रणालीमा चल्ने अनुमति दिइएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार सम्पन्न बैठकपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा ४ पांग्रे निजी गाडीमा ४ जनाभन्दा बढी चढ्न मनाही गरिएको छ ।
बिहान ४ बजेबाट १२ बजेसम्म पसल खोल्न छुट दिइएको छ भने ब्यूटीपार्लर, रेष्टुराँलगायतका व्यवसायमाथिको बन्देज कायम गरिएको छ । अनलाइन सेवालाई सुरक्षा मापदण्डभित्र साँझ ७ बजेसम्म संचालनको अनुमति दिइएको छ ।
तनहूँमा निषेधाज्ञा थपियो
तनहूँमा फेरि निषेधाज्ञाको अवधि थप गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय तनहूँले एक साता थप्दै असार १६ गतेसम्म निषेधाज्ञा लम्बाएको हो । पाँचौ चरणमा गरिएको निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदैछ ।
कोरोनाको संक्रमण दर नघटेको कारण निषेधाज्ञा थप्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । उनका अनुसार कडाईको साथ निषेधाज्ञा पालना गराइनेछ ।
थपिएको निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा सञ्चालनको समय एक घण्टा घटाइएको बरालले जानकारी दिए । हाल बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सेवामा पर्ने व्यवसाय सञ्चालन गर्न दिइएको छ ।
प्रशासनले उत्पादनमूलक र भीडभाड नहुने व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ । यसकालागि बिहान ८ देखि ११ बजेसम्म समय तोकिएको छ । २२ वैशाखदेखि तनहूँमा निषेधाज्ञा जारी छ ।





