पोखरा, ७ असार- नेकपा एमालेका नेता माधवकुमार नेपालले ‘भ्याकेट’मा जाने निर्णयले पार्टी एकता भंग गर्न खोजिएको बताएका छन्। प्रधानमन्त्री केपी ओली पक्षले कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्ने निर्णयविरूद्ध ‘भ्याकेट’मा गएको थियो।
ओलीपक्ष भ्याकेटमा गएसँगै वरिष्ठ नेता नेपालले सोमबार बेलुका फेसबुकमा धारणा राख्दै ‘भ्याकेट’ पार्टी एकता भंग हुने दिशामा गएको बताएका हुन्। ओली पक्ष कर्णाली प्रदेशका चार सांसदको कारबाही फुकुवाविरूद्ध आइतबार ‘भ्याकेट’मा गएको थियो।
नेपालले सत्ता जोगाउन संविधानका बिरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुरा एकतावद्ध पार्टी बनाउने प्रयासविरूद्ध भएको बताएका छन्।
उनले भनेका छन्, ‘असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकताविरोधी तत्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।’





