काठमाण्डौ, १२ असार– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ ।
कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि कार्यालयले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए ।
कोरोना भाइरसको तेस्रो लहर आएपनि स्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्ने उल्लेख गर्दै उनले भरसक भौतिक उपस्थितिमा परीक्षा र त्यो सम्भव नभएपनि अनलाइनबाट परीक्षा गरेर क्यालेन्डलरलाई पहिलेकै अवस्थामा पु¥याउँने बताए ।
त्रिविको गत वर्ष भदौमा हुनेपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा कोभिड–१९ का कारणले हुन सकेको छैन । पनिकाले स्नातक दोस्रो वर्षको परीक्षा आगामी साउन ४ गते र पहिलो वर्षको परीक्षा साउनको १० गतेदेखि शुरु गर्न थालेको छ । त्यसपछि स्नातक तह कानुनको प्रथम वर्षको परीक्षा र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारीमा पनिका छ ।
परीक्षा नियन्त्रक जोशीका अनुसार दशैँअगाडि २०७७ सालका परीक्षा सम्पन्न र दशँैपछाडि २०७८ सालका परीक्षा शुरु गर्ने तयारी छ । दशैँपछाडि स्नातक तहका चारै वर्ष र स्नातकोत्तर तहको प्रथम वर्षको परीक्षा गरिने उनले बताए । दशैँअगाडि हुने परीक्षामा दुई लाख ५० हजार विद्यार्थी र दशैँपछाडिको परीक्षामा करिब छ लाख परीक्षार्थी सहभागी हुने उनले जानकारी दिए ।





