तनहुँ, १९ असार– प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि तनहुँका स्थानिय तहले आगामी आर्थिक वर्षमा ६ करोड बढी सशर्त अनुदान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/०७९ मा कार्यक्रम सञ्चालन गर्न जिल्लाका १० स्थानीय तहलाई ६ करोड ४२ लाख ६१ हजार रुपैयाँ अनुदान दिएको हो ।
पहिलो चरणमा उपलब्ध गराइने यो रकमले जिल्लाको १ हजार ८४ बेरोजगार युवाहरुले न्युनतम १ सय दिनको रोजगारी प्राप्त गर्नेछन् । ४ नगरपालिका र ६ गाउँपालिकामा हालसम्म ३ हजार २३ जना युवा बेरोजगार सूचिकृत छन् ।
सबैभन्दा बढी अनुदान आँबुखैरेनी गाउँपालिकाले पाएको छ । पारिश्रमिकमा आधारित आयोजना सञ्चालन गर्न आँबुखैरेनीलाई १ करोड ६ लाख ४५ हजार रुपैयाँ सशर्त अनुदान मन्त्रालयले दिनेछ । यहाँ ७ सय ७ बेरोजगार सूचिकृत छन् । मन्त्रालयले दिएको अनुदानले १ सय ८४ जनालाई न्यूनतम १ सय दिनको रोजगारी मिल्नेछ ।
सबैभन्दा कम अनुदान बन्दीपुर गाउँपालिकाले प्राप्त गरेको छ । मन्त्रालयले विनियोजन गरेको पारिश्रमिकमा आधारित आयोजना सञ्चालन गर्न सशर्त अनुदान रकममा बन्दीपुरको पोल्टामा ४२ लाख ३५ हजार रुपैयाँ परेको छ । १ सय ५ बेरोजगार सूचिकृत यहाँ मात्र ७३ जनाले रोजगारी पाउनेछन् ।
३ सय ५५ बेरोजगार सूचिकृत भानु नगरपालिकालाई ६८ लाख ९७ हजार रुपैयाँ अनुदान छुट्याइएको छ । यो रकमले भानुका १ सय १९ जनालाई रोजगारीको अवसर प्राप्त हुनेछ । व्यास नगरपालिकालाई ६६ लाख २० हजार रुपैयाँ छुट्याइएको छ । ३ सय २९ जना बेरोजगार सुचिकृत भएकोमा मन्त्रालयले उपलब्ध गराउने पहिलो चरणको अनुदानले १ सय १४ युवाले रोजगारी पाउनेछन् । शुक्लागण्डकी नगरपालिकामामा १ सय ६४ बेरोजगार सूचिकृत छन् । ८४ जनाले रोजगारी पाउनेगरी ४८ लाख ६४ हजार रुपैयाँ अनुदान छुट्याइएको छ । भिमादका ९५ जनालाई १ सय दिनको रोजगारी दिन मिल्नेगरी ५९ लाख २० हजार रुपैयाँ अनुदान प्राप्त हुनेछ । भिमादमा सूचिकृत हुने बेरोजगारको संख्या २ सय ३५ छ ।
२ सय १५ बेरोजगार सुचिकृत देवघाट गाउँपालिकामा ९३ जनालाई रोजगारी दिन मिल्नेगरी मन्त्रालयले ५४ लाख ७ हजार रुपैयाँ छुट्याएको हो । म्याग्दे गाउँपालिकाको भागमा ५८ लाख ७५ हजार रुपैयाँ परेको छ । यहाँ २ सय ५९ जना सुचिकृत बेरोजगार रहेकोमा १ सय १ जनालाई रोजगारीको अवसर मिल्नेछ ।
४ सय ८८ बेरोजगार सूचिकृत ऋीषङ गाउँपालिकाले आगामी आर्थिक बर्ष ८६ लाख १३ हजार रुपैयाँ प्राप्त गर्नेछ । यो रकमले १ सय ३८ जनालाई रोजगारी दिन पुग्नेछ । घिरिङ गाउँपालिकाको पोल्टामा ५१ लाख ८५ हजार रुपैयाँ अनुदान परेको छ । जहाँ १ सय ६६ जना बेरोजगार सूचिकृत छन् । मन्त्रालयले पहिलो चरणमा दिएको अनुदान रकमले ८३ जनालाई रोजगारी मिल्नेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभरका ७ सय ५३ स्थानीय तहलाई आगामी आर्थिक वर्षका लागि उक्त कार्यक्रम सञ्चालनार्थ पहिलो चरणमा ९ अर्ब ८१ करोड ३९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेको छ । यो रकमले एक लाख १८ हजार ९२ जनालाई न्यूनतम १ सय दिनको रोजगारी उपलब्ध गराउन सकिन्छ । २ लाख बेरोजगार युवालाई न्यूनतम १ सय दिनको रोजगारी दिने घोषणा गरेको सरकारले आगामी बर्षको बजेटमा १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।





