
तनहुँ, २१ असार– चैतमा रोपेको धानको बाला लहलह झुल्दै थियो । थन्क्याउने तयारी गर्दै थिए शुक्लागण्डकी नगरपालिका–१० पिप्लेडिहीका कृष्णराज पौडेल परिवार । १५ मुरी बढी चैते धान थन्काउने उनको सपना बुधबार राती परेको भिषण बर्षाले बगाईदियो । ‘१५ मुरी आउने खेतमा धान पाकेको थियो । २५ मुरी फल्ने खेतमा भर्खर रोपेका थियौँ । मकै पनि पाकेको थियो । केही नरहने गरी माथीबाट आएको पहिरोले खेत बगर बनाएको छ’, उनले भने ।
उनको धानखेत वरपर त्यति ठुलो खोला छैन् । चैते धान रोप्नलाई खोल्साको पानीले मुस्किलले सिंचाई सुविधा पुग्छ । बाढी पहिरो खस्ने अनुमान गर्न सकिदैन्थ्यो । तर, खेत भन्दा निकै माथीबाट खसेको पहिरोले हरियो फाँटमा ग्रेगानको थुप्रो भरिएको छ । पसिना र रगत बगाएर रोपेको खेत बाढीको आतंकले बगरमा परिणत भएपछि उनलाई छट्पटि भईरहेको छ । भोक निन्द्रा सबै हरेको छ । ‘अब बर्षभरी के खाने ? बगरको थुप्रो हटाएर फेरी पहिलाको जस्तै रोप्न मिल्ने कसरी बनाउने ? यही चिन्ताले मन पोलेको छ’, पौडेलले सुनाए ।
मान्द्रेफाँटमा बाढीले सोत्तर पारेको धान खेतमा भेटिएकी सुचना विकको गहँभरी आँसु देखिन्थ्यो । अर्कैको खेतमा अधियाँ रोपेको धान । भकारीमा थन्क्याउने बेला खोलाले बगर थुपारेको धेरै बेर उनले नियाल्नै सकिनन् । मुरी उब्जाउने लक्ष्यले मानो रोपेको धान मुठ्ठी पनि भकारीमा राख्न नपाउदा परिवारको पेट कसरी भर्ने चिन्ताले भयवित बनायो सायद उनलाई । ‘दुख गरेर खेत रोपियो, गोडियो, किनेर मल हालियो । थन्क्याउने बेलामा यस्तो भयो’, उनले सुनाईन् । ‘यत्रो क्षति भएको छ, कतैबाट केही पाईएला र ?’, राहतको अपेक्षा गर्दै उनको प्रश्न थियो ।
मान्द्रेफाँटका गह्राहरुमा बगरको थुप्रो देखिन्छ । यहाँका दुई खहरे खोला उन्मक्त भएर खेतका गह्रा–ग्रहामा चाहार्दा किसानको पसिनामा बगर थुप्रिएको हो । बगरको थुप्रोमा कहीकतै पाकेका धानका बाल देखिन्छन् । रोपेको धान केही देखिन्न् । चैते धान काटेर असारे रोप्न व्याडमा राखिएको विउ पनि बाढीले पुरेको छ । बाढी हटाएर कसरी फेरी रोपाई गर्ने धेरै किसान यही सोचिरहेका छन् ।
मान्द्रेफाँटमा जस्तै शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर १० र ८ का अधिकांश फाँटहरुमा बाढीले ठुलो क्षति पु¥याएको छ । बाढीले धान खेतमा पु¥याएको क्षतिबारे वडा कार्यालयले अनुगमन र तथ्याङक संकलन थालेको जनाएका छन् ।
१ हजार ५ सय रोपनी क्षेत्रफलमा लगाईएको धान खेतमा पुर्ण रुपमा क्षति भएको शुक्लागण्डकी नगरपालिकाको अनुमान छ । कृषी शाखा प्रमुख नवराज पण्डित भन्छन्, ‘क्षतिको विवरण संकलन हुदैछ । यो भन्दा बढी पनि क्षति भएको हुन सक्छ ।’ क्षतिको विवरण संकलन भएपछि किसानलाई राहतको लागी प्रदेश सरकारसंग सिफारिस गर्ने पण्डितले बताए ।
तनहुँको शुक्लागण्डकीसंगै म्याग्दे गाउँपालिकाको फाँटहरुमा लगाईएको धान खेतीमा पनि ठुलो क्षति पुगेको छ । कतै धान डुबेका छन् । कतै बगर थुप्रिएको छ । व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा पनि धान खेतीमा क्षति पुगेको जनाईएको छ ।
गत बर्ष पनि जिल्लामा बाढीले धानखेतीमा ठुलो क्षति पु¥याएको थियो । कृषि ज्ञान केन्द्रका तनहुँका अनुसार गत बर्ष जिल्लाका झन्डै १३ हेक्टर क्षेत्रफलमा लगाईएको धान खेतीमा क्षति भएको थियो । यसपाली असारमै आएको बाढीले कति क्षति पुगेको यकिन विवरण प्राप्त नभएको ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । स्थानिय तहसंगको समन्वयमा क्षतिको विवरण संकलन भईरहेको उनले बताए ।
कृषी विमा निशुल्क हुने व्यवस्था भएतापनि किसान आकर्षित नहुदाँ बर्षेनी ठुलो क्षति व्यहोर्नुपरेको उनले बताए । ‘कृषी बिमा गर्दा एक रुपैयाँ लाग्दैन् । शतप्रतिशत अनुदानको व्यवस्था छ । तैपनि किसान आकर्षित भएको देखिदैन्’, उनले भने ।





