नवलपुर, २१ असार– सोमबार नवलपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । देवचुली, कावासोती र मध्यविन्दुका एक–एक जना गरी तीन जनाको आइतबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले सोमबार मात्रै जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, देवचुली नगरपालिका वडा नं. ४ का ६८ बर्षीय महिला, कावासोती नगरपालिका वडा नं. ३ का ८१ वर्षिय पुरुष र मध्यविन्दु नगरपालिका वडा नं. ७ की ६४ वर्षिया महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो ।
मृतक तीनै जनाको मध्यविन्दु जिल्ला अस्पतालमा पिसीआर परिक्षण गर्दा नतिजा पोजेटिभ आएको हो । देवचुलीकी महिलाको असार १८ गते, मध्यविन्दु नगरपालिकाकी महिलाको असार १७ गते र कावासोतीका पुरुषको असार ७ गतेको परिक्षणमा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालयले विवरणमा उल्लेख छ ।
यससंगै नवलपुरमा ७ हजार ४ सय ४६ जनामा कोभिड पुष्टि भएकोमा १ सय २२ जनाले ज्यान गुमाएका छन् । आज सोमबार थप तीन जनाको मृत्यु पुष्टि भएसँगै बैशाख यता मात्रै ९० जनाको मृत्यु भएको छ । आज नवलपुरमा सक्रिय संक्रमितको संख्या ३ सय ८८ पुगेकोे छ ।





