तनहुँ, २२ असार– बुधबार रातीको भिषण बर्षापछि छाब्दी खोला उर्लदा व्यास नगरपालिकाकाो भादगाउँ र बेलवास जोड्ने पक्की मोटरेबल पुल भत्किएको छ । पुल भत्किएपछि सर्वसाधारण बाँसको फड्केबाट जोखिम मोलेर खोला वारपार गर्न बाध्य छन् । सवारीसाधन ठप्प हुदाँ गाउँमा दैनिक उपभोग्य बस्तुको ढुवानी हुन पाएको छैन् । किसानले उत्पादन गरेको कृषि उपज बजार पु¥याउन सकस छ ।
१८ बर्ष अगाडी बनाएको पुल भत्किएर व्यासको बेलवास, मास्दी, पोखरीभञ्ज्याङ, धरमपानी, छिपछिपेसंगै देवघाट र बन्दीपुर गाउँपालिकाका ग्रामिण बस्तीसंग सदरमुकाम दमौली बजारको दुरी लम्बाएको छ । यी क्षेत्रका स्थानिय छिट्टै पुल बन्ने र आवतजावतमा सहजता आउने आशमा छन् ।
पुल भत्किएको स्थानमै बेलिब्रीज राख्ने चर्चा चल्न थालेको छ । सामाजिक सञ्जाल हेर्दा बेलिब्रीज राख्न संघिय सरकार र प्रदेश सरकारबिचको हानथाप जस्तो देखिन्छ । संघ र प्रदेशमा फरक पार्टीको सरकार भएकाले पनि यहाँ बेलिब्रीज हालेर जस लिने दाउमा यहाँका नेता छन् ।
शुक्रबार विहान विगठित प्रतिनिधि सभाका सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले भौतिक पुर्वाधार मन्त्रालयमा आफुले पुल बनाउन लागी पहल गरेकोमा तत्काल बेलिब्रीज बन्ने भन्दै फेसबुकमा स्टाटस पोस्ट्याए । ‘तनहुँवासी विशेष गरी दक्षिण भेगका जनताहरुका लागी दुखद पछि खुशीको खबर ! केही दिनदेखी परिरहेको अविरल बर्षाको कारणले बुद्धसिंह मार्गको छाब्दी खोलाले बगाएको पुलको ठाउँमा तत्काल बेलिब्रीजको लागी भौतिक मन्त्रालय संघिय सरकारबाट व्यवस्था भएको व्यहोरा जानकारी गराउन चाहान्छु’, उनले फेसबुकमा लेखेका थिए । नेकपा एमाले केपी ओली पक्षधरका नेता श्रेष्ठको स्टाटसलाई आधार मानेर धेरैलाई उनलाई धन्यवाद टक्राए ।
शुक्रबार नै बेलुकीपख गण्डकी प्रदेशका पुर्व गृहमन्त्री एवम नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता हरिबहादुर चुमानले पनि फेसबुकमा ‘छाब्दी दोभानमा बेलिब्रीज राख्न बेलिब्रीजका पार्टस ढुवानी र जडान खर्च प्रदेश सरकारले व्यहोर्ने गरी प्रकृया अगाडी बढेको छ’, भनेर पोस्टाए । गण्डकीमा यतिबेला चुमानको पार्टी माओवादी केन्द्र आबद्ध विपक्षी गठबन्धनको सरकार छ ।
गृहजिल्लामा बेलिब्रीज राख्ने स्टाटस पोस्टाएर जनताको मन जित्ने दाउमा यी दुवै नेता देखिए । तर, बेलिब्रिज हाल्ने सम्बन्धमा पुर्वाधार विकास कार्यालय तनहुँलाई भने न संघिय सरकारको, न त प्रदेश सरकारको तर्फबाट आधिकारीक पत्र प्राप्त भएको छ । तर, दुवै सरकारबाट जानकारीआएको कार्यालयका प्रमुख ओमराज ढुंगानाले बताए । उनले अगाडि भने, ‘यता प्रदेशबाट पनि मुख्यमन्त्री कार्यालयबाट हामीलाई स्टिमेट गर्नु भन्ने कुरा भा’छ । उता केन्द्रमा चाहिँ विपद् जोखिम न्यूनीकरणको सहसचिवको फोन आएको थियो, कति कस्ट लाग्छ भनेर ।’
कार्यालयबाट खटिएका प्राविधिकले शनिबार सर्वेको काम सकेको ढुंगानाले बताए । बेलिब्रिज राख्न स्टिमेटको काम सुरु भएको उनले जानकारी गराए । उनका अनुसार आँबुखैरेनीको तुरतुरेमा रहेको बेलिब्रीज फुकालेर छाब्दी खोलामाथि जोडिनेछ ।
संघले हालोस् या प्रदेशले, जस्ले गरेपनि गोजीबाट दाम निकालेर काम गर्ने हैन् । जनतालाई आपत परेको बेला पहल गर्नु पनि सही नै हो । तर, जस्ले पुल हाले पनि स्थानियले चाँडो पुलबाट आउजाउ गर्ने वातावरण मिलोस् । फड्केबाट खोला तर्नुपर्ने जोखिम हटोस् ।’





