बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बुटवल–नारायणगढ सडक स्तरोन्नति सम्झौता : समयमै सकिनेमा शंका !

बुटवल–नारायणगढ सडक स्तरोन्नति सम्झौता : समयमै सकिनेमा शंका !

ठेक्का अवधि झण्डै ६० प्रतिशत सकिँदा निर्माणको काम झन्डै ६/७ प्रतिशतमात्रै सकिएको हो ।


  • खगेन्द्र पराजुली
  • असार २३ २०७८, बुधबार

नवलपुर, २३ असार– निर्माण सुरु भएको २ वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक विस्तारको भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन । पूर्व–पश्चिम मुख्यमार्गलाई चार लेनमा चौडा गर्ने गरी स्तरोन्नति थालिएको मुख्यमार्ग पहिले निर्माणस्थलमा रहेका संरचना हटाउन सरकारको स्वीकृति बेलैमा नपाएर र अहिले कोभिडका कारणले काम प्रभावित भएर ढिला भइरहेको छ ।
असार लागेयता वर्षाका कारण निर्माण कार्य झन् प्रभावित भएको नारायणगढ–बुटवल सडक योजनाले जनाएको छ ।सडकमा कहिले डाइभर्सन लगायतका सडकका संरचना बगाउने, कहिले पहिरोले सडक अवरुद्ध भएकाले त्यसैलाई खुलाउन योजना केन्द्रीत भएको प्रमुख रमेशकुमार दृष्टिले बताए ।
सामान्य अवस्थामा झण्डै ४ देखि ५ सयसम्म कामदार हुने गरेकामा अहिले आयोजनामा झन्डै ५०÷६० जना मात्रै कामदार कार्यरत छन् । कोभिडको त्रासका कारणले घर फर्किएका कामदार अझै काममा नफर्किएको उनले बताए । बैशाखमा संक्रमितको संख्या बढेसँगै धेरै कामदार घर फर्किएका थिए ।
असारयता दैनिक वर्षात भइरहेकाले निर्माणको काम गर्न नसकिएको प्रमुख दृष्टिले बताए । ‘निर्माणका लागि असार÷साउन उपयुक्त समय नभएकाले आपत्कालीन मर्मतबाहेक अरु काम कम हुन्छ । मौसमले साथ दिए र सक्रमण घटेमा भदौबाट मात्र काम गर्न सकिन्छ,’उनले भने ।
विस्तारको काम तालिकाभन्दा धेरैपछाडि रहेको आयोजनाले जनाएको छ । ठेक्का अवधि झण्डै ६० प्रतिशत सकिँदा निर्माणको काम झन्डै ६÷७ प्रतिशतमात्रै सकिएको हो । निर्माणस्थलमा पहिले रुख कटान र बिजुलीका पोल सार्ने प्रक्रिया मिलाउन लामो समय लागेको अहिले कोभिडले गर्दा गत वर्ष र चालू वर्षमा काम प्रभावित हुँदा लक्ष्य अनुसार प्रगति हासिल गर्न नसकिएको दृष्टिको भनाइछ ।
अव ठेक्का सम्झौता अवधि एक वर्ष मात्र बाँकी छ । अहिले निर्माणस्थलमा हटाउनुपर्ने धेरै कुरा हटिसकेको प्रमुख दृष्टिले बताए । वन क्षेत्रमा रुख हटाउने काममा ९० प्रतिशत प्रगति भइसकेको छ । बिजुलीका पोल हटाउने प्रक्रिया सहित सम्झौता भएकाले अब त्यसतर्फ काम हुने जनाइएको छ । खानेपानी आयोजनाका केही पाइप मात्र हटाउन बाँकी रहेको प्रमुख दृष्टिले बताए ।
०७५ चैतमा सडक स्तरोन्नति कार्य सुरु भएको थियो । दाउन्ने–नारायणगढ र दाउन्ने–बुटवल दुई खण्डमा भइरहेको काम चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले गरेको छ । ४ लेनमा विस्तार हुने भनिए पनि सहरी क्षेत्रमा ६ लेन र दाउन्ने क्षेत्रमा ३ लेनमा सडक विस्तार हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->