बेनी, २३ असार– म्याग्दीको बेनी नगरपालिका६,चुत्रेनीका २९ वर्षीय कृष्ण मल्ल पैसा कमाउने रहरले केही वर्ष विदेशमा बिताए । विदेशमा सुपरभाइजरसम्मको जिम्मेवारी पाएका मल्ल घर फर्किएपछि अस्ट्रेलिया जाने हुटहुटीले मल्लको दिमागमा पनि तातियो ।
अस्ट्रेलिया जाने सोच बनाएका मल्लको घरमा बुबाले पालेको बाख्रापालनमा ध्यान गयो । करिब २ वर्ष साउदी र ४ वर्ष इराकमा पसिना बगाएका मल्ल विदेशको दुःखसँग परिचित थिए । विदेशको सपना त्यागेर आफ्नै गाउँठाँउमा केही गर्नेसोचमा बनाए ।
स्थानीय जातका बाख्राबाट सुरु गरेको व्यवसायलाई उनले अहिले बोएर जातका बाख्रापालन गरेका छन् ।‘विदेश जाने मुड चेन्ज गरेर बाख्रापालन गरेको छु । अहिले नाफा कमाएको छैन । बेचेर लगानी थपेको छु,’ मल्लले भने ।
करिब ११ लाखबाट सुरु गरेको बाख्रापालन अहिले करिब ३० लाखभन्दा बढीका बोएर छन् भने ठूलो क्षेत्रफलमा उन्नतजातको घाँससमेत लगाएका छन् ।वार्षिक १२ लाखसम्मको बिक्री गर्ने गरेको मल्लको भनाइछ । उनको फार्ममा ३ लाखसम्म पर्ने बोएर बोका छ ।‘यहाँको कमाइले म पूर्णरुपमा सन्तुष्ट छु । आम्दानीलाई दोब्बर बनाउने गरी थप खोर विस्तार गर्दैछु,’ नेपाल व्यावसायिक बाख्रापालन महासंघ म्याग्दीका अध्यक्षसमेत रहेका मल्लले भने।
अस्ट्रेलियाबाट आयात गरिएको बोएर जातको बोका र एक माउबाट सुरु गरेको बाख्रापालन अहिले बेचेर १५ वटा भएपनि यसै वर्ष ५० पु¥याउने गरी थप बोएर मगाएका छन् भने खोरमै पनि एक वर्षमा दोब्बर हुने गरी माउ राखेका छन् ।मल्लले युवापुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोगसमेत गर्ने बताए ।
कृष्ण बहुउद्देश्य कृषि तथापशुपालन र्फम दर्ता गरेर मासुको प्रयोजनका लागि नभइ शुद्ध बोएर एवं स्थानीय खरी जातको बाख्रालाई बोएर बोकादिएर नश्ल सुधार गर्दै उन्नतजातका पाठापाठी बिक्रि गरी कृषकलाई बाख्रापालन व्यवसायमा प्रेरित गर्ने योजना रहेको मल्लको रहेको छ।
‘विदेशमाजाने बेलाको लगानी यही व्यवसायमा लगानी गरेर घरमा बस्न सोच आएर मैले यो बाख्रापालन सुरु गरेको हो,’ उनले भने ।छिमेकी र बाँझो जमिन लिजमा लिएर घाँससमेत विस्तार गरेका छन् । पछिल्लो समय बोएर जातको बाख्रापालनमा युवाहरुको आर्कषण देखिएको छ ।
बेनी नगरपालिका ६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले कृषि र पशुपालनमा पकेट क्षेत्रको रुपमा अगाडि बढेकाले आवश्यकता अनुसार सहयोग गर्ने गरिएको बताए । उनले वडाभित्र कृषि, पशुपालन सहितका उत्पादनमुखी क्षेत्रमा सम्भावना भएकाले अनुदान सहित प्रोत्साहनमा जोड दिएको बताए ।





