
तनहुँ, २५ असार– धादिङका दिलबहादुर कुवँरको परिवार २०६६ सालमा बन्दीपुर गाउँपालिका२ खहरेमा बसाइँ आए । जिन्दगीभर ओत लाग्नलाई खहरेमा जस्ताले छाएको एकतले घर ठड्याए । त्यही घर बुधबार राति २ बजे खहरे खोलामा उर्लेको बाढीले ढलाएको छ ।
‘खहरेमा पल्टँदै आएको ढुंगाले अगाडिपट्टिको गाह्रो फुटायो । घरभित्र भएको सबै सामान बगाएर लग्दियो,’ कुवँरले भने, ‘एउटा ग्यास सिलिन्डरभन्दा अरु केही भेट्टिएन् ।’ अब कहाँ गएर ओत लाग्ने कुवँरलाई चिन्ता छ ।
घर भत्किएपनि उनको परिवार सकुशल छन् । किनकि १७ असारमा बाढी आएपछि कुवँर परिवार कृषि फर्ममा बसेका थिए । खहरेमा यति ठूलो बाढी आउला र घर नै भत्काउला कसैले सोचेका थिएनन् । तर, ‘नपत्याउँदो खोलाले बगाउँछ’ भनेझै यही खहरेले उठीबास लगाएको छ । ‘हिउँदमा पानी पनि हँुदैन् । बगरमा कमिला हिँड्छ’, उनले भने, ‘बर्खामा पनि घरै भत्काउन सक्ने ठूलो हुदैन् ।’
बन्दीपुर–मुचोक–छाब्दी सडक खन्दाको असरले खहरेको बस्ती जोखिममा परेको उनी बताउँछन् । ‘पोहोर माथी मुचोकको बाटो खनेसी अलि अलि माटो खसेको थियो । ढुंगाहरु खसेको थिएन् । यसपाली फेरि त्यही ठाउँमा डोजर लाइदेसी माथिबाट झरिहाल्यो नि !’ सडकभन्दा माथि मुकुन्देश्वरी डाँडाबाटै पहिरो खसेको उनले बताए ।
बन्दीपुर–मुचोक–छाब्दी सडक विघटन भएको प्रतिनिधी सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) को पहलमा संघीय सरकारको बजेटमा खनिएको हो । दुई आर्थिक वर्षमा २÷२ करोड रुपैयाँका दरले विनियोजित बजेटले सडकको काम भएको बन्दीपुर गाउँपालिकाले जनाएको छ ।
कुवँर परिवारलाई जस्तै यहाँका ४८ घरधुरीमा खहरेको बाढीले आतंक मच्याएको छ । हिउँदमा पानी थोपा नबग्ने खहरेमा १७ असार यता आएको बाढीले१३ घर भत्काएर पूर्ण क्षति भएको गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् । उनका अनुसार ९ घरमा आंशिक क्षति हुदाँ २६ घर उच्च जोखिममा छन् ।
घरविहीन भएका स्थानिय शिशु स्याहार केन्द्र र आमा समुहको भवनमा बस्दै आएका थिए । त्यहाँ पनि जोखिम भएपछि बटारमा रहेको देउराली आधारभुत विद्यालयमा बस्ने व्यवस्था मिलाउन वडाध्यक्षलाई निर्देशन दिएको उपाध्यक्ष गुरुङले बताइन् । ‘पालिकावासीको दुख टुलुटुलु हेरेर बस्न सक्दैनाँै । गासबासको व्यवस्था गर्छौं, उपाध्यक्ष गुरुङले भनिन् । बस्तीमा थप जोखिम हुन नदिनडोजर लगाएर जम्मा भएको ग्रेगान हटाउने उनले जनाईन् ।
गएरातीको बाढीले बन्दीपुरकै धारापानीमा १२, रामकोटमा ७ र कल्चोकमा ५ घर उच्च जोखिममा परका छन् । डुम्रे बन्दीपुर सडक अवरुद्ध भएको थियो । दिउँसो खुलाइएको गाउँपालिकाले जानकारी दिएको छ ।
बाढीले घर पूर्ण क्षति भएकालाई ३० हजार रुपैयाँ र आशिंक क्षति भएकालाई १० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गाउँ कार्यपालिका बैठकले गरेको छ ।
बन्दीपुर गाउँपालिकाले यो बर्ष बाढी पहिरोको सामना गरिरहनु परेको छ । गत साता पनि वडा नम्बर २ कै तामुङमा पहिरोमा परेर २ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए ।





