तनहुँ, २५ असार –जिल्लाको सबैभन्दा पुरानो व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागी १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट पास गरेको छ ।
चालुतर्फ ५७.८३ र पूँजीगततर्फ ४२.१७ प्रतिशत बजेट विनियोजन गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । उनका अनुसार चालुतर्फ १ अर्ब २ करोड ८७ लाख १२ हजार रुपैयाँ र पुँजीगतमा ७५ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
व्यासको बजेटले सामाजिक विकासलाई प्राथमिकता दिएको उनको भनाइ छ । सामाजिक विकास शीर्षकमा ९३ करोड १७ लाख ७५ हजार रुपैयाँ विनियोजन भएको न्यौपानेले बताए । आर्थिक विकासमा१९ करोड ११ लाख ९६ हजार रुपैयाँ, पूर्वाधार विकासमा ४५ करोड ३८ लाख २५ हजार रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनमा ४ करोड ६६ लाख ५० हजार रुपैयाँ, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ २ करोड ५४ लाख ६६ हजार रुपैयाँ छुट्याइएको छ ।
संघिय सरकारबाट सशर्त अनुदानमा ५६ करोड १७ लाख रुपैयाँ,वित्तीय समानिकरण अनुदान १९ करोड ७६ लाख रुपैयाँ,राजश्व बाँडफाँडबाट१२ करोड ९८ लाख ५१ हजार रुपैयाँ,सामाजिक सुरक्षा अनुदानबापत २१ करोड रुपैयाँ, आन्तरिक श्रोतबाट २० करोड ५० लाख रुपैयाँ, सञ्चित कोष अल्याबाट १५ करोड ३७ लाख १२ हजार रुपैयाँ, राजश्व बाँडफाँड अन्तर्गत मालपोत रजिष्ट्रेशनबाट १० करोड रुपैयाँ आम्दानी हुने अनुमान नगरको छ ।
नगर विकास कोष ऋणबाट १० करोड रुपैयाँ, प्रदेश वित्तीय समानीकरण अनुदानबाट २ करोड ४४ लाख ७८ रुपैयाँ, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट १ करोड ७४ लाख ७५ हजार रुपैयाँ, गाउँ नगर साझेदारी कोषबाट १ करोड ६५ लाख रुपैयाँ, संघिय सरकारको विशेष अनुदानबाट १ करोड ३७ लाख रुपैयाँ, प्रदेशको विशेष अनुदानबाट १ करोड रुपैयाँ, प्रदेशको सशर्त अनुदानबाट १ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
नगरसभाले विनियोजन विधेयक, आर्थिक विधेयक, पुरातात्विक, ऐतिहासिक स्थलको संरक्षण गर्न बनेको विधेयक, कर्मचारी समायोजन ऐन पारित गरेको न्यौपानले बताए । स्थानीय तहमा कार्यरत कर्मचारीलाई बढुवा गर्ने गरी ऐन पास भएको छ । पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई योग्यता र क्षमताका आधारमा बढुवा गर्नेगरी ऐन बनाईएको न्यौपानेले बताए ।अवकाशप्राप्त कर्मचारीलाई उपदान दिने व्यवस्था समेत ऐनले गरेको छ । करारमा कार्यरत कर्मचारीका लागि पनि उपदान दिने व्यवस्था हुनेछ ।





