म्याग्दी, २७ असार– म्याग्दीमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै गरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले संक्रमति भेटिएको टोलमा सिल गर्ने भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले ५ जना सक्रिय संक्रमति रहेको गाउँ, टोलको चार किल्ला कायम गरी आवतजावत, ब्यवसायलाई बन्द गर्ने निर्णय गरेको सहायक प्रजिअ सुवास शर्मा पौडेलले बताए ।
‘समुदायस्तरमै स्वंयमसेवक टोली बनाएर अभियान सुरु गर्ने स्थानीय तहलाई अनुरोध समेत गरिएको छ, संक्रिय संक्रमति भएको एरियामा अब आवतजावतमा थप कडाई हुन्छ’ सहायक प्रजिअ शर्माले भने । जिल्लाको ग्रामिण क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि एन्टीजेन परीक्षणलाई समेत थप प्रभावकारी बनाउन अनुरोध गरिएको छ ।
कोरोनासँग लक्षण मिल्ने बिरामी देखिन थालेपछि पाँच जनाभन्दा बढी सक्रिय संक्रमति भएका क्षेत्रमा सोही गाउँको अन्य टोलबाट समेत आवतजावतमा रोक लगाउन समुदायस्तरबाटै सुरक्षा दस्ता बनाए मात्रै प्रभावकारी हुने बैठकमा सहभागी अन्य सदस्यले समेत राय दिएका थिए ।





