म्याग्दी/असोज १८ गते । भीषण बाढी र पहिरोले म्याग्दी जिल्लाका विभिन्न भागमा ठूलो जनधनको क्षति पु¥याएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले असोज १७ गते सम्म अध्यावधिक गरेको तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी जिल्लाभर ७ जनाको मृत्यु भएको छ भने २ जना अझै बेपत्ता रहेका छन् । मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार मालिका २ रुमका दुई जना बागलुङको ताराखोलामा पहिरोमा परेर मृत्यु भएको छ ।
वर्षा पछिको पहिरोले गर्दा सडक सम्पर्क विच्छेद भएका बस्तीहरूबाट हालसम्म ११५ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, गिवाङ, शिख, घार, मंगला गाउँपालिकाको छिस्वाङ तथा रघुगंगा गाउँपालिकाको पाखापानी क्षेत्रमा हेलिकप्टरबाटै खाद्यान्न र औषधिजन्य सामग्री पुर्याइएको सहायक प्रमुख जिल्ला अधिकारी कुल प्रसाद आचार्यको भनाई छ । साथै शिख, पाउद्वार र महभिर क्षेत्रका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा थप राहत सामग्री पठाउने तयारी भइरहेको छ । बाढी पहिरोबाट १११ घर पूर्ण क्षती र ९३ घर आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।
बाढी–पहिरोले जिल्लाका मुख्य तथा ग्रामीण सडक सञ्जालमा गम्भीर असर पारेको छ । अवरुद्ध सडक खुलाउन तथा इन्धन अभाव हुन नदिन सुरक्षाकर्मी, सामाजिक संघसंस्था र राजनीतिक दलका कार्यकर्ताहरू उच्च सतर्कताका साथ खटिएका छन् । बेनी जोमसोम सडक खण्डको गलेश्वर नजिकै देखि सडक सञ्जाल टुटेको हुँदा राहुघाट खोलादेखि बैसरीसम्म मानव साङ्लो बनाउँदै तथा बोकेर ७२० लिटर डिजेल पु¥याइएको छ भने जलविद्युत आयोजनाहरूसँग डिजेल सापटी लिएर भारी उपकरणहरू सञ्चालन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । राहुघाट, बैसरी, रातोपानी र पोखरेबगर क्षेत्रमा स्काभेटर, लोडर र टिप्पर परिचालन गरी मर्मत कार्य भइरहेको छ ।
भौतिक पूर्वाधारतर्फ बेनी–दरबाङ सडकखण्डको अवरोध हटाई साना सवारीका लागि सुचारु गरिएको छ भने बेनी–बागलुङ सडकमा पनि साना गाडी चल्न थालेका छन् । तर राष्ट्रिय गौरवको आयोजना मानिने बेनी–जोमसोम सडकखण्ड भने अझै पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
स्थानीय सडकहरूतर्फ तोरीपानी, बरंजा, गलेश्वर र नागी जोड्ने ग्रामीण मार्गहरू सञ्चालनमा ल्याइएको छ । सञ्चार तथा विद्युत सेवा पुनस्र्थापनाको काम पनि द्रुत गतिमा अघि बढेको छ । नेपाल टेलिकमका अधिकांश बीटीएस स्टेशनहरू सुचारु भइसकेका छन् भने बेनी बजार, बाबियाचौर, दरबाङ लगायतका प्रमुख स्थानमा विद्युत सेवा नियमित भइसकेको छ ।
धवलागिरी र अन्नपूर्ण गाउँपालिकाका दुर्गम बस्तीहरूमा भने विद्युत मर्मतको काम जारी रहेको विद्युत कार्यालय प्रमुख सत्यनारायण गामीको भनाई छ । दाना–कुश्मा २२० केभी प्रसारण लाइनको दाना सबस्टेशनदेखि राहुघाट सबस्टेशनसम्म पुगेको क्षति मर्मत भइरहेको छ । बेनी बजारको मुख्य खानेपानी पाइपलाइन र इन्टेकमा क्षति पुगेकाले वैकल्पिक माध्यमबाट पानी वितरणको प्रयास भइरहेको बेनी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष रमेश गिरीको भनाई छ ।
विपद् व्यवस्थापनका लागि जिल्लामा नेपाली सेनाका १ सय ६५, नेपाल प्रहरीका २ सय ५१ र सशस्त्र प्रहरी बलका ६० जना जनशक्ति उद्धार तथा व्यवस्थापनमा खटिएका छन् । प्रधानमन्त्रीका निजी सचिव सहसचिव प्रदिप परियार, सडक विभागका महानिर्देशक डा. विजय जैसी तथा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले प्रभावित कालीगण्डकी कोरिडोर लगायतका क्षेत्रको स्थलगत निरीक्षण गरी मर्मत कार्यको वास्तविक अवस्था जानकारी लिएको सहायक प्रजिअ आचार्यको भनाई छ ।
यसैबीच, पहिरोको जोखिम अध्ययन गर्न नेपाल भौगर्भिक समाजका चार जना भूगर्भविदको टोलीले अध्ययन थालेको छ । टोलीले बेनी नगरपालिका ८ बेनी बजारभन्दा माथिल्लो भित्तो, खौरेनी बस्ती नजिकैको पहिरो, अँधेरीगैरा, सिंगा तथा रघुगंगा गाउँपालिकाको हरखर्क र बैसरी क्षेत्रको जमिन फाटेको र ३२ घर जोखिममा रहेको स्थानको प्राविधिक अध्ययन सम्पन्न गरेको छ ।





