बेनी नगरपालिका–६ थाकनपोखरीका होमनाथ रिजाल । –तस्वीर : हरिकृष्ण गौतम÷म्याग्दी
म्याग्दी, २८ असार– बेनी नगरपालिका–६ थाकनपोखरीका कृष्ण रिजालले धान रोपाइँमा प्रयोग गर्न ल्याएको मिनी टिलर (हाते ट्याक्टर)प्रयोग नगर्दै बिग्रियो । रिजाल जस्तै भहदत्त आचार्य, सन्तोष रेग्मी र रमेश रेग्मीलाईसमेत रोपाइँको मुखमै मिनी टिलरले धोका दियो ।पटक–पटक प्रयास गर्दासमेत ट्याक्टरले काम नगरेपछि हलो जुवा बोकेर गोरु धपाउँदै खेतबारीमा पुग्नुपरेको कृषकको गुनासो छ।
किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाई उत्पादन बढाउन बेनी नगरपालिकाले ३३ प्रतिशत अनुदान दिएपछि किसानले ४० हजार रुपैयाँ तिरेर मिनी टिलर खरिद गरेको अवस्थामा मानो रोपेर मुरी फलाउने बेलामा प्रयोगविहिन भएको स्थानीय लेखनाथ रिजालले बताए ।
‘सरकारी अुनदान पाएपछि ट्याक्टर खरिद गरियो’ रिजालले भने, ‘रोपाइँको बेलामा टिलर घरको आगनमा राखेर गोरू खोज्न जानुपरेको छ ।’ विगतमा गोरूबाट रोपाइँ गर्दै आएका किसानलाई कृषिमा आधुनिकीकरण र यान्त्रीकरण गर्न चालु आवमा थाकनपोखरी र छापमा वितरण गरिएको मध्ये ७ थान टिलर प्रयोगविहीन भएका हुन् । प्रयोग नगरी बिग्रिएपछि मर्मतका लागि अनुरोध गर्दा बिक्रेता धौलागिरी मेशिनरी एण्ड टुल्स सप्लार्यसले साउन महिनामा आउने भन्दै आलटाल जवाफ दिएको स्थानीय कृषकको गुनासो छ ।
बेनी नगरपालिकामार्फत् टेण्डर प्रक्रियाबाट मिनी टिलर बिक्री गरेका सप्लार्यरका प्रोपाईटर सूर्य गौतमलाई स्थानीयले पटक–पटक सम्पर्क गरेपनि साउन महिना अगाडी मर्मत सम्भव नभएका बताएपछि रोपाइँमा जुटेका कृषकले नगरपालिकामार्फत नै फिर्ता गर्ने तयारीसमेत गरेका छन् डिजेलबाट चल्ने ५ हर्स पावर क्षमताको १७३ एफ ट्रिपल गियर भएको मिनी टिलर किसानलाई उपलब्ध गराइएकोमा बिक्रेताले गुणस्तरहीन टिलर बिक्री गरेको गुनासो वडाध्यक्ष कृष्णसिङ बानियाँलाई समेत गराएका छन् ।
यता नगरपालिकाकी कृषि शाखा प्रमुख आकृति ढुंगानाले काम गर्दै जाँदा मेसिन बिग्रियो भने सम्झौता अनुसार मर्मत गर्नुपर्ने बताइन् ।उनले बजारमा पार्टपुर्जा पनि सजिलै पाइने मिनी टिलरलाई उपभोक्ता समितिमार्फत् खरिद गरिएकाले समस्या समाधानका लागि प्रयास भइरहेको बताईन् । ‘हामीसँग प्रयोग नै नगरी राखिएको गुनासो आएको छैन्’,उनले भनिन्,‘आगामी आवमा खरिद प्रक्रियालाई थप व्यवस्थित बनाउने छौँ ।’
चालु आवमा वडा नं १ मा २१, वडा नं २ मा २०, वडा नं ३ मा २३, वडा नं ५ मा ४७ र बेनपा १० मा ६ वटा टेलर वितरण गरेको छ । मिनी टिलरबाट जोत्दा प्रतिघण्टा करिब एक लिटर पेट्रोल खर्च लाग्छ भने एक घण्टामा एक रोपनी जोत्न सकिन्छ ।





