
नवलपुर, २ साउन – बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपुरले २ जनालाई जन्मकैदको सजाय सुनाएको छ । नाबालिकालाई बलात्कार गरेको अभियोगमा देवचुली नगरपालिका-९ का रोहित थापा (२७ वर्ष) र विनयी त्रिवेणी गाउँपालिका-७ रानीनगरका १५ वर्षीय किशोरलाई शुक्रबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले जन्मकैदको सजाय सुनाएको हो ।
दुवै अभियुक्तले छिमेकी नाबलालिकालाई बलात्कार गरेको अनुसन्धानमा खुलेको थियो । दुवै अभियुक्तबाट ५०–५० हजार रुपैयाँ क्षतिपूर्ति भराइएको छ । अभियुक्त थापाले छिमेकी ८ वर्षकी नाबालिकालाई अघिल्लो वैशाख ३१ गते खेल्दै आफनो घरमा आएको मौका पारेर बलात्कार गरेको बयान दिएका छन । घरनजिक खेल्दै आएको मौका पारेर ती नाबालिकालाई चकलेट दिएर खेतमा लगेर बलात्कार गरेको उनले बयान दिएका छन् । पीडित नाबालिकाका अभिभावकले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।





