म्याग्दी ५ साउन – जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्ला भित्र चल्ने सार्वजनिक यातायातका साधनहरु सुचारु गरिएका छन् । तर, बाढी र पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन संचालन हुन भने सकेका छैनन् ।
पहिरोले बेनी–जोमसोम सडकसहित म्याग्दीका भित्री सडकहरु अवरुद्ध भएका हुन् । असारको सुरुआतसँगै परेको अविरल वर्षाका कारण झरेको पहिरोले बेनी–जोमसोम,बेनी–दरबाङ र जिल्लाका भित्री सडकहरु अवरुद्ध भएका हुन् । साउन १ गतेदेखि नै जिल्ला भित्र चल्ने सार्वजनिक यातायात खुल्ला गरिए पनि जिल्लाका कुनै पनि ग्रामीण सडकमा बस चल्न सक्ने अवस्था नरहेको यातायात व्यवसायीहरुले बताएका छन् ।
म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष सुमन श्रेष्ठले आन्तरिक सार्वजनिक यातायातका साधनहरु खुल्ला गरिएपनि बाढी र पहिरोका कारण अवरुद्ध बनेका सडकहरु सुचारु गर्न नसक्दा यातायातका साधनहरु संचालन हुन नसकेको बताए । ‘सार्वजनिक यातायात त खुल्ला भयो तर सडक खुलाउन सकिएन्,दिउसो बनायो,राति पानी परेपछि पहिरो गएर सडक अवरुद्ध हुन्छ,’ श्रेष्ठले भने, ‘जिल्लाका प्रायः सबै ग्रामीण सडकहरु पहिरोले अवरुद्ध छन्,सार्वजनिक यातायातका साधनहरु संचालन गर्न सकिएको छैन ।’
बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध हुँदा ठूलो समस्या उत्पन्न भएको छ । मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा माथिबाट पहिरो र तलबाट नदी कटानले गर्दा विभिन्न ९ ठाउँमा अवरुद्ध हुने गरेको छ । पश्चिम म्याग्दी र बागलुङका १४ वटा गाउँलाई जोड्ने बेनी–दरबाङ सडकको समस्या पनि बेनी–जोमसोम सडकको जस्तै रहेको यातायात व्यवसायीहरुले बताएका छन् । यहाँ सडक माथिबाट ढुंगासहितको पहिरो आउने र म्याग्दी नदीको कटानका कारण सडक भासिने गरेको छ ।
बेनी–बरंजा,बेनी–पुलाचौर र बेनी–झीँ यी तीनवटा सडक बाहेक जिल्लाका अन्य १७ वटा ग्रामीण सडक अवरुद्ध छन् । ६ किलोमिटर दूरीको बेनी–पुलाचौर सडक, ८ किमी दूरीको बेनी–बरंजा सडक र ७ किमी दूरीको बेनी–झीँ सडकमा पनि साना यातायातका साधनहरु मात्र संचालन भएका छन् ।
म्याग्दी यातायात व्यवसायी समितिका अध्यक्ष श्रेष्ठका अनुसार यी ३ वटा सडकमा पनि जीपबाहेक ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन् । पहिरोका कारण सडक साँघुरिएकाले ठूला सवारी साधन संचालन हुन नसकेको व्यवसायीहरुको भनाइ छ ।





