म्याग्दी ८ साउन– अहिले देशैभरी विभिन्न वर्ग,पेशा र उमेर समूहका व्यक्तिहरुलाई धमाधम कोरोनाविरुद्धको खोप लगाइदै छ ।
सरकारले पनि कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको छ । खोप केन्द्र नै स्थापना गरेर कोरोना विरुद्धको खोप अभियान चलिरहेको भएता पनि म्याग्दीका किसानहरुले भने खोप लगाउन नपाएको गुनासो गरेका छन् ।
सरसफाइकर्मी, शरणार्थी, कर्मचारीदेखि लिएर विदेश जाने व्यक्तिहरुलाई सरकारले प्राथमिकतासाथखोप लगाइरहेको छ । तर, हरेक मानिसको जीवनसंग जोडिएको अन्न,फलफूल र तरकारी उत्पादन गर्ने किसानलाई भने उपेक्षा गरेको उनीहरुको गुनासो रहेको छ ।
किसानका हितमा काम गर्ने विभिन्न संघसंस्थाहरुले किसानलाई खोप उपलब्ध गराउन माग गरे पनि सरकारले वास्ता नगरेको उनीहरुको भनाइरहेको छ । नेपाल किसान संघ म्याग्दीले कोरोना खोपका लागि पटक पटक पहल गरेपनि सुनुवाइ नभएको जनाएको छ । खेतबारीमा काम गर्ने,धेरै भिडभाडमा काम गर्ने, बजारसँग प्रत्यक्ष घुलमिल हुने किसानहरूलाई कोरोनाको खोप उपलब्ध गराउन सरकारले ढिला गर्न नहुने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए ।
‘हुन त सरकारले विभिन्न उमेर समूहका व्यक्तिहरु विभाजन गरेर खोप लगाउन शुरु गरेको छ, तर जसरी शिक्षक,कर्मचारी,यातायातको क्षेत्रमा कामगर्ने व्यक्ति,अन्य पेशामा आवद्ध व्यक्तिहरुलाई तोकेर नै खोप दिइरहेको भए पनि किसानलाई भने त्यस्तो वर्गिकरणमा राखेको छैन’ अगुवा कृषक कार्कीले भने ‘लक्षित उमेर समूहका व्यत्तिहरुमध्ये पनि किसान यतिबेला खेतीपातीमा व्यस्त भएकोले सो उमेर समूहका किसानले खोप लगाएका छैनन् ।’ नेपाल किसान संघ म्याग्दीका अध्यक्ष सम्मरबहादुर थापाले किसानहरु पनि फ्रन्ट लाइनमा काम गर्ने व्यक्तिहरु भएकाले सरकारको प्राथमिकतामा पर्नुपर्दथ्यो भन्दै अब प्राथमिकतका साथ सबै किसानलाई खोप लगाउनु पर्छ भने ।
‘सोझा र पहुँच नपुग्ने वर्गका किसानलाई खोपमा पनि विभेद गरियो’ अध्यक्ष थापाले भने ‘सरकारले दूध बोक्ने गाडीका चालक र दुध बेच्ने व्यापारीलाई खोप लगाइदियो तर दूध दुहुने र अन्न तथा तरकारी फलाउने किसानलाई वास्तै गरेन ।’
म्याग्दीमा खेतबारीमा काम गर्ने,पशुपालन गर्ने,पोल्टी क्षेत्रमा काम गर्ने,डेरीमा काम गर्ने किसान तथा व्यवसायीहरुले अझैसम्म पनि खोप लगाउन नपाएका थापाको भनाइरहेको छ । कोरोना महामारीको समयमा अरु व्यक्तिहरु घर भित्र नै सुरक्षित रहने भएपनि किसानहरु भने निरन्तर काममा खटिइरहनुपर्दछ । कोरोना संक्रमणको जोखिम मोलेर कामका खटिइ अन्न तथा तरकारी उत्पादन गरेर उपभोक्ताहरुको घरघरमा पु¥याइदिने किसान नै खोपबाट बञ्चित रहनु दुर्भाग्य भएको बेनी नगरपालिका २ खबराका अगुवा कृषक शोभित शर्माले बताए ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म अनुदान र खरिद गरेर ९७ लाख ८२ हजार ८५० खोप भित्रिएको छ । यतिधेरै खोप आउँदा पनि कृषि प्रधान देशमा किसानले नै खोप लगाउन नपाउनु दुर्भाग्यपूर्ण भएको किसानहरुको गुनासो रहेको छ । स्वास्थ्य कार्यालय म्याग्दीले सरकारले तोकेका विभिन्न उमेर समूहअन्तर्गतका किसानहरुले पनि खोप लगाएका र लगाउन बाँकी सबैलाई क्रमशः लगाइने जनाएको छ ।





