फाइल तस्बिर
म्याग्दी, १० साउन– पहिरोले थुनिएको गुर्जाखोलामा पानी ओभरफ्लो भएर बग्न थाल्यो, तटीय क्षेत्रमा रहेकालाई सर्तकता अपनाउन प्रहरीको आग्रह,
पहिरोले थुनिएको गुर्जा खोलामा पानी ओभर फ्लो भएर बग्न थालेपछि तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
थुनिएको खोलाको बाँध फुटेर एकैचोटी बगे तटीय क्षेत्रका दर्जनौं बस्ती जोखिममा पर्ने हुँदा सर्तकता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । खोलाबारे थप सूचना लिने प्रयास भैरहेको उनको भनाई छ ।
म्याग्दी सदरमुकाम बेनीहुँदै बग्ने म्याग्दी नदीको सहायक नदी गुर्जाखोला पहिरोले शनिबार ५ बजेदेखि थुनिएको हो । धवलागिरि गाउँपालिका वडा नं. १ गुर्जास्थित खास्काको डाँडाबाट खसेको पहिरोले गुर्जा थुनिएर ठूलो तलाउ बनेको छ ।
खोला थुनिएबारे खेतबारी र गोठको काममा गएर फर्किएका स्थानीयले आफूलाई जानकारी गराएको र आफूले राती नै सम्बन्धित निकायहरुमा जानकारी गराइसकेको वडा नम्बर १ का अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
गुर्जा र चुरेन हिमालको फेदीबाट बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदीमा मिसिएको छ । थुनिएको स्थानमा गुर्जाबाट पुग्न दुई घण्टाभन्दा बढी समय लाग्छ । आइतबार बिहान वडाध्यक्ष छन्त्याल सहितको टोली खोला थुनिएको स्थानतर्फ प्रस्थान गरेको छ ।





