शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भागवत मन्त्री नबन्दा गोपालमानविरुद्ध प्रदर्शन

भागवत मन्त्री नबन्दा गोपालमानविरुद्ध प्रदर्शन

गोपालमानको प्रतिक्रिया : रक्सी खुवाएर, पेट्रोल हाल्देर उफारिएको हो ।


  • ढोरपाटन सम्वाददाता
  • साउन १२ २०७८, मंगलबार
 भागवतप्रकाश मल्ललाई मन्त्री नबनाइएपछि असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताहरुले स्याङ्जाको चापाकोटमा निकालेको मोटरसाइकल ¥याली ।

पोखरा, १२ साउन– स्याङ्जामा नेपाली कांग्रेसकै कार्यकर्ताले पूर्वउपसभापति गोपालमान श्रेष्ठविरुद्ध प्रदर्शन गरेका छन् । स्याङ्जाबाट गण्डकीमा प्रतिनिधित्व गर्ने सांसद भागवतप्रकाश मल्ललाई मन्त्रीमा सिफारिस नगरेको भन्दै उनीविरुद्ध प्रदर्शन भएको हो ।
प्रदर्शनमा उत्रिएका स्याङ्जाको चापाकोट क्षेत्रका कांग्रेस कार्यकर्ताहरुले श्रेष्ठविरुद्ध नाराजुलस मात्रै गरेनन्, मल्ललाई मन्त्री नबनाउनुको कारक श्रेष्ठ नै भएको आरोपसमेत लगाए ।
उनीहरुले आइतबार चापाकोट नगरपालिकाको तामाचौरदेखि सुन्तलीटारसम्म मोटरसाइकल ¥याली नै निकाले । ¥यालीमा करिब सयजना तरुण र विद्यार्थीहरु सामेल भएको प्रत्यक्षदर्शीले बताए । ¥यालीपछिको कोणसभामा बोल्दै चापाकोटकी कार्यपालिका सदस्य ईशा राना र विद्यार्थी नेता दिसव भण्डारीले लोकप्रिय नेता तथा सभासद मल्ललाई मन्त्रीमा सिफारिस नगरिएकोमा तीव्र आक्रोश व्यक्त गरे ।
स्याङ्जाबाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने कांग्रेस सभासद मल्ल र मेखलाल श्रेष्ठ दुबैजना मन्त्रीको आंकाक्षी थिए । तर, अन्तिम समयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मेखलाललाई सामाजिक विकासमन्त्रीको जिम्मेवारी दिए । स्रोतका अनुसार गोपालमानकै सिफारिसमा मेखलाल मन्त्री बनेका हुन् ।
स्याङ्जाका दुबै सांसदले मन्त्रीमा आकांक्षा देखाएपछि मन्त्री छान्ने जिम्मा गोपालमानलाई नै दिइएको थियो । गोपालमानले दुबैजनालाई पालोपालो मन्त्री हुन सुझाए पनि पहिलो प्राथमिकता मेखलाललाई दिए । मेखलालले लामो समयसम्म गोपालमानको स्वकीय सचिवको जिम्मेवारी निभाएका थिए ।
आफूलाई मन्त्री नबनाइएको असन्तुष्टि सडकमा पोखिएकोबारे भागवतले प्रतिक्रिया दिन अस्वीकार गरे । ‘यो विषयमा केही नबोलौं,’ ढोरपाटनसँग टेलिफोन सम्पर्कमा उनले भने, ‘मेरो पार्टी निर्णयप्रति असन्तुष्टि छैन ।’ उनी स्याङजाबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।

भागवतलाई मन्त्री नबनाएकोमा सामाजिक सञ्जालमा पनि गोपालमानको उत्तिके आलोचना भइरहेको छ । भागवतलाई रुचाउने कांग्रेस कार्यकर्ताले सामाजिक सञ्जाल फेसबुकमा तीव्र असन्तुष्टि जनाउँदै गोपालमानको आलोचना गरेका छन् । मुख्ममन्त्री नेपालीले अन्तिम समयमा तनहूँका डोबाटे विश्वकर्मालाई मन्त्री नबनाएकोमा पनि व्यापक आलोचना भइरहेको छ ।
यता, नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले विरोध प्रदर्शनलाई रक्सी खुवाएर र मोटरसाइलकलमा पेट्रोल हालिदिएर उफारिएको घटनाको संज्ञा दिए । कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री हुँदा उपनेतालाई मन्त्री बनाउनु स्वभाविक भएको गोपालमानको प्रतिक्रिया थियो । मेखलाल गण्डकी प्रदेश कांग्रेस संसदीय दलका उपनेता हुन् । कांग्रेसबाट ६ जना प्रत्यक्ष निर्वाचित सांसद छन् ।
गोपालमानले २, ४ जना केटाहरु उफ्रिँदा आफूले कमेन्ट गर्ने आफ्नो ‘राष्ट्रिय हाइट’ बिग्रिने भन्दै प्रतिक्रिया नदिने बताए । उनले केही युवालाई तेल हालिदिएर उफार्दैमा राष्ट्रिय नेताले बोल्न नमिल्ने बताए । ‘जुलस निकाल्छन् । गाली गर्दै हिँडेर केही फाइदा छैन,’ ढोरपाटनसँग उनले भने, ‘जग्गा बिक्रेता, ठेकेदार मन्त्री भाको हो र ? ठेकेदारलाई मन्त्री बनाएको हो ?
गण्डकी मन्त्रिमण्डल विवादबारे ढोरपाटनसँग टेलिफोन सम्पर्कमा कांग्रेस नेता गोपालमान श्रेष्ठले राखेको भनाइ जस्ताको तस्तै ः

गोपालमान श्रेष्ठ : पूर्व सभापति नेपाली कांग्रेस स्याङ्जा

ह्या, छाडनुहोस्… यो विषयमा म कुरा गर्न चाहन्नँ । मुख्यमन्त्रीलाई सोध्नुहोस् । जुलस निकाल्छन् । गाली गर्दै हिँडेर केही फाइदा छैन । जग्गा बिक्रेता, ठेकेदार मन्त्री भाको हो र ? ठेकेदारलाई मन्त्री बनाएको हो ?
उपनेता भएको मान्छे बनेको छ, नेता मुख्यमन्त्री बनेको छ । मुख्यमन्त्रीलाई सोध्नुहोस्, पार्टी सभापतिलाई सोध्नुहोस् । गाउँका १०–२० जना केटालाई मोटरसाइकलमा तेल हाल्देर उचालेर हुन्छ र २–४ जना केटा उफ्रेकोमा मैले कमेन्ट गर्ने ? मेरो हाइट बिगिन्छ, म राष्ट्रिय नेताले कमेन्ट गर्न मिल्छ ?
मलाई कसैले फूलमाला लगाइदिन्छ, कसैले गाली गर्छ ,कसैले विरोध गर्छ,कसैले कालोभण्डा देखाउँछ, सबको सामना गर्ने मान्छे हो, म । म केन्द्रको अध्यक्ष लड्ने मान्छेसँग यस्तो कुरा नगर्नुहोस् । मेरो मानमदर्न हुन्छ र (विरोध प्रदर्शनले )? १०–२० जना केटालाई रक्सी खुवाएर, यसो पेट्रोल हाल्दिएर उफार्दैमा मेरो मानमर्दन हुँदैन, मैले मानमर्दन ठानेकै छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->