पोखरा/आज २७ औं विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आवद्ध विभिन्न जातीय संघसंस्थाले कार्यक्रम आयोजना गर्दैछन् ।
यस वर्ष ‘कसैलाई पछाडि नछोडौं : आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आह्वान’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघले भने ‘पहिचानसहितको संघीयता र स्वयत्तत्ताका लागि संविधान संशोधन हाम्रो अभियान, धर्मनिरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७ औं विश्व आदिवासी दिवस हाम्रो आन्दोलन’ भन्ने नारा तय गरेको छ ।
हरेक वर्ष अगष्ट ९ का दिन संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर आदिवासी जनजाति दिवस मनाउने गरिन्छ ।
यसैबीच, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर बस्ने नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उनले यस दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरेका छन् ।





