शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पालो कुरेर उपचार !

पालो कुरेर उपचार !


  • ढोरपाटन संवाददाता
  • साउन २७ २०७८, बुधबार

पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रांगनमा मंगलबार एक हुल जम्मा थियो । ती हुलमध्येको एकजनाको आफन्तलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुले सुरुमा संक्रमितलाई प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएका थिए ।

अवस्था गम्भीर भएकाले छिटोभन्दा छिटो ती संक्रमितलाई उपचार आवश्यक थियो । तर, अस्पतालको बेड भरिएको थाहा पाएपछि निन्याउरो मुख लगाउँदै अर्को एक निजी अस्पताल उनीहरु लागे ।
पोखरामा पछिल्लो एकहप्तामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेकाले अहिले आइसोलेसन वार्डहरु फेरि भरिभराउ हुन थालेका छन् । पोखरामा संक्रमितलाई उपचार गर्ने स्वीकृति पाएका सरकारी अस्पताल पश्चिमाञ्चल र सरुवा तथा संक्रामक रोग अस्पतालमा पुगेका संक्रमितहरु यसरी नै फर्किन बाध्य छन् ।

पछिल्लो एक हप्तामा कोरोना संक्रमितको संख्या नपत्याउँदो गरी बढेकाले आइसियूमा भर्ना हुन आएका संक्रमितले समेत पालो कुरेर उपचार गर्नु पर्ने अवस्था आएको बताउँछन्, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन डा शरद बराल ।

‘बाहिर जताततै भिड छ । पहिलेजस्तो सरोकारवालकै ध्यानाकर्षण पनि भएको छैन । तर, पछिल्लो एकहप्तामा एक्कासि कोरोना संक्रमित बढेका छन्,’ डा बरालले भने, ‘यहाँ (पश्चिमाञ्चल अस्पताल, आइसोलेसन)मा पनि पालो कुरेर पनि उपचार नपाउने स्थिति आइसक्यो ।’

पश्चिमाञ्चलमा कोभिड विरामीका लागि ८० बेड छुट्याइएको छ । तर, ती सबै बेड मंगलबारसम्म पूरा भरिइसकेको डा बरालको भनाइ छ । उनले बेलैमा ध्यान नदिए स्थिति झनै भयावह हुने देखिएको बताए । ‘गम्भीर प्रकृतिका बिरामी धेरै छन् । बेलैमा ध्यान नदिए झन् स्थिति भयावह बन्छ,’ डा बरालले भने ।

असार १४ गते निषेधाज्ञा खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालयले कास्कीमा जोरबिजोर प्रणालीमा सार्वजनिक गाडी चल्न दिने निर्णय थियो । प्रशासनले उक्त निर्णय गर्दा कास्की जिल्लाभर सक्रिय संक्रमितको संख्या जम्मा ५ सय ३२ थियो ।

तर, निषेधाज्ञा खुकुलो भएको एक महिनामै कास्कीमा सक्रिय संक्रमितको संख्या झन्डै ४ गुणाले बढेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार मंगलबासम्म कास्कीमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार १९ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो एकहप्तामा कोरोना संक्रमितको संख्यामा मात्रै नभई मृत्युदरमा पनि वृद्धि भएको छ । एक हप्ताको अवधिभित्रै कास्कीमा २३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । गण्डकीभर मंगलबारमात्रै ज्यान जना संक्रमितले ज्यान गुमाएका छन् । जसममध्ये कास्कीकामात्रै ४ जना छन् ।

उस्तै छ संक्रामक अस्पतालको हालत पनि

प्रदेशको एकमात्रै कोभिड अस्पतालका रुपमा तोकिएको सरुवा तथा संक्रामक रोग अस्पतालको आइसोलेसन वार्ड पनि कोभिड विरामी भरिएका छन् । ५० बेड क्षमताको उक्त अस्पतालमा सबै आइसोलेसन भरिएको अस्पतालका निर्देशक विकास गौचन बताउँछन् ।

५० बेड क्षमताको उक्त अस्पतालमा अहिले ४७ जना संक्रमितले उपचार गराइरहेका छन् । ‘५० बेडको भनिए पनि १÷२ बेड खाली नै राख्नुपर्ने हुन्छ । कुनै अक्सिजन नचल्ने लगायतको समस्या आउन सक्छ,’ उनले भने, ‘यसरी हेर्दा अस्पताल संक्रमितले भरिएकै हो ।’

डा गौचनका अनुसार अस्पतालमा उपचाररत संक्रमितहरु प्रायः गम्भीर प्रकृतिका छन् । अघिल्ला पटकभन्दा यस पटक गम्भीर बिरामीको संख्या धेरै भएको उनले जानकारी दिए । ‘प्रायः सबैलाई अक्सिजन दिनुपर्ने अवस्थाको हुनुहुन्छ । गम्भीर बिरामी धेरै आएका छन्,’ उनले भने ।

निषेधाज्ञा कडाइ गर्न सुझाव : निर्देशनालय

प्रदेश स्वास्थ्य निर्देशनालयले निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल बढ्दा संक्रमणदर बढेको छ । निर्देशनालय प्रमुख खिमबहादुर खड्काले निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड पालना नभएको र अब कडाइ गरिनुपर्ने बताए ।
‘अब सबै आआफ्नै तवरबाट सचेत हुनुपर्नेबेला भइसक्यो । पछिल्लो समय ह्वात्तै बढेको देखियो,’ निर्देशक खड्काले भने, ‘बिहान पनि सिडिओ सा’बलाई निषेधाज्ञा कडाइ गर्न सुझाव दिएका छौं ।’

खड्काले सार्वजनिक स्थान र यातायातहरुमा भिडभाड नघटेको र सामान्य मापदण्ड पनि पालना नगरिएकाले समस्या उत्पन्न भएको बताए । ‘गाडीमा त्यस्तै भिड छ, बाटोबाटोमा त्यस्तै भिड छ । अब आफैं सचेत हुनुपर्नेबेला भइसक्यो,’ उनले भने ।

कोरोना संक्रमण बढेको भन्दै बागलुङले बिहीबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेक बैंक तथा वित्तीय संस्थाहरुसमेत नखुल्ने गरी निषेधाज्ञामा कडाइ गरेको छ । प्रशासनले बिहीबारदेखि भदौ ५ गतेसम्म तोकिएका विश्वाविद्यालयका परीक्षा र स्वास्थ्य क्षेत्रबाहेक सम्पूर्ण क्षेत्र बन्द गर्न सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->