
पोखरा/ संविधानमा लेखिएका हक सबै नागरिकले बराबरी प्रत्याभूति पाउँदैनन् । पाउने भए लमजुङको सुन्दरबजार नगरपालिकाकी एक बालिका १३ वर्षकै उमेरमा सुत्केरी हुनुपर्ने थिएन । अन्य बालबालिका जस्तै उनी पनि कहीँकतै विद्यालयमा भेटिने थिइन् ।
संविधानमा आप्mनाबारे के कति हक लेखिएको छ, ती बालिकालाई थाहा छैन । बालबालिकाका लागि तय गरिएका नीति र कानुनबारे पनि उनले थाहा पाएकी छैनन् । जीवन धान्न मस्र्याङ्दी किनारमा बालुवा बोक्न गएकी बालिका त्यहीँ अर्का बालकसँग प्रेममा पर्छिन् । लगत्तै विवाह गर्छिन् । प्रेम विवाह गर्दा उनको उमेर १० वर्षको थियो भने बालकको उमेर करिब १६ वर्ष ।
संविधानको मौलिक हक र कर्तव्यमा बालबालिकाको हकको उपदफा २ मा लेखिएको छ, ‘प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ ।’ संविधानमा लेखिएको यो मौलिक हक यी बालबालिकाले पाएनन् । जसको परिणाम उनीहरुले गैरकानुनी रुपमा विवाह गरे, उमेर नपुग्दै बच्चा जन्माउन पुगे ।
सडक बालकका रुपमा हुर्किएका ती बालक १६ वर्षको उमेर पुग्दानपुग्दै मस्र्याङ्दी किनारमा बालुवा बोक्न पुग्छन् । उनका आमाले छाडेर गएपछि बुबाले पनि सडकमा छाडेको बताएका छन् । बालकले अहिलेसम्म घर देख्न नपाएको बताएका छन् ।
सुत्केरी भएकी यी बालिका पनि परिवारमा उचित रेखदेख नपाएकै कारण बालुवा बोक्न मस्र्याङ्दी किनार पुगेकी थिइन् । उनका बुबा अर्काको घरमा बसेर काम गर्छन् । नाजुक आर्थिक अवस्थाका बाबजुद मानसिक समस्या भएका कारण पनि उनले छोराछोरी हेर्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन् । जसका कारण जीवन धान्नकै लागि बालिका बालुवा बोक्न पगेकी थिइन् ।
बालुवा बोक्ने क्रममा यी बालबालिकाबीच भेट हुन्छ । मिलेर काम गर्छन् । परिवारको माया र रेखदेख पाउनुपर्ने बेला, शिक्षा र स्वास्थ्य पाउनुपर्ने बेला उनीहरु मस्र्याङ्दी किनारमा बालुवा बोकेर जिविका चलाउँछन् । यत्तिकैमा एक दिन ती बालकले विवाह गर्न बालिकालाई आग्रह गर्छन् । ति बालकको फुपूको घरमा बसेर काम गरेका कारण आफूले विवाह गरेको ती बालिकाले बताएकी छिन् । तर उनले आफुहरुबीच ‘लभ’ परेको र बिहे गरेको बताइन् ।
गरिब मुस्लिम परिवारमा जन्मेकी बालिकाले सानो उमेरमै विवाह गरेका कारण उनका परिवारले पटक पटक छुटाउने प्रयास गरेका थिए । किशोरीका फुपूले २ पटकसम्म छुटाएर लगेकी थिइन् । तर उनी फुपूको आँखा छलेर ती बालकसँग बसिन् । यसरी छुटाएर लगे पनि किशोरीलाई उचित शिक्षा र पुनस्र्थापना गर्न उनका परिवारले सकेनन् ।
विवाह भएको ४ बर्षपछि उनीहरुले बच्चा जन्माए । गर्भवती हुँदा बुबासँग रहेकी बालिकालाई सुत्केरी व्यथा लागेपछि उनका श्रीमानले जिल्ला अस्पताल बेसीशहर लगेका थिए । जिल्ला अस्पताल पुगेर बेडमा सुतेपछि साढे २ किलोको छोरी जन्मिएको बालिकाले बताइन् । यसरी बच्चा जन्माएर बुबाले काम गरेर बस्ने ठाउँ फर्केकी सुत्केरीलाई दाजुले घरभित्र पस्न दिएन । गोठमा लगेर राखिदिए । सुत्केरीलाई आवश्यक हेरचाह र स्याहार–सुसार यी किशोरीले पाइनन् ।
सुत्केरी बालिकाको बिजोग देखेपछि उनका फुपूले आप्mनो घर लगेर राखेकी छिन् । सक्दो स्याहार सुसार गरेको उनले बताइन् । ‘गोठमा एउटा तन्नामा सुत्केरीलाई सुताएको देखें, बच्चाको दिसा–पिसाब स्याहार्न पनि सकेको थिएन’, फुपूले भनिन्, ‘जति सक्छु सम्हाल्छु भनेर मैले लिएर आएँ ।’
सुत्केरी बालिकाले बच्चा हुर्काउन पनि उत्तिकै समस्या रहने उनका फूपूले बताइन् । ‘यिनीहरु बच्चै छन्, बच्चाले बच्चा जन्माएपछि कसरी हुर्काउने ?,’ उनले भनिन्, ‘भाडाँकुटी खेलेझैं बच्चा जन्माए, बच्चाको हालत के हुने हो थाहा छैन ।’
सुत्केरी बालिकाले आप्mना शिशु छोरीलाई तेल लगाइदिन थालेकी छिन् । फुपूसँग बच्चा हुर्काउन उपाय सिक्दैछिन् । फुपूको घरमा समेत उनलाई पोसिला खाना र बस्नका लागि समस्या छ । नेपालको कानुन अनुसार २० वर्ष नपुगी विवाह गर्न पाइदैन ।
संविधानको बालबालिका सम्बन्धी मौलिक हकको उपधारा ४ मा भनिएको छ,‘कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन ।’ बालुवा निकाल्ने र बोक्ने जस्ता जोखिमपूर्ण श्रममा यी बालबालिका लगाउँदा राज्यका कुनै पनि निकायले देखेनन् । जसको परिणाम अहिले देखिएको लमजुङका बालअधिकार अभियन्ता नवीनचन्द्र घिमिरे बताउँछन् ।
सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले बालिका सुत्केरी हुनुअघि यसबारे जानकारी नै नभएको बताए । सुत्केरी बालिकाले विभिन्न संस्था र युवा क्लबले सहयोग गरिरहेको भन्दै उनले आवश्यकता अनुसार नगरपालिकाले पनि सहयोग गर्ने बताए ।
लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइटेलले घटनाका बारेमा आफुले जानकारी लिइरहेको बताए । ‘सुत्केरी हुनुअघि नै बालविवाहको सुचना आएको भए कुरै अर्को हुन्थ्यो,’ सिडिओ लुइटेलले भने, ‘सरसल्लाह गरेर यो घटनाको संवोधन गर्छौ ।’





