पोखरा/केही समय ओरालो लागेको गण्डकीको कोरोना संक्रमणदर पछिल्लो महिनाबाट फेरि बढेको छ । कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा ज्यान गुमाउनको संख्या ५ गुणाले बढी भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।
बैशाखदेखि बुधबारसम्मकोमात्रै तथ्यांक नियाल्ने हो भने एक हजार भन्दा बढी संक्रमितको ज्यान गएको छ । बैशाखको पहिलो साता गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७ मात्रै थियो । तर, ४ महिना नबित्दै उक्त संख्या बढेर १ हजार ६९ मा पुगेको छ । बुधबारमात्रै प्रदेशभरका १० जना संक्रमितले ज्यान गुमाएका छन् ।
बैशाखको पहिलो हप्ता गण्डकीमा सक्रिय संक्रमितको संख्या जम्मा ४ सय ६२ थियो । त्यसमध्ये ४२ जनामात्रै अस्पतालमा उपचारत थिए । निर्देशनालयका अनुसार बैशाखको पहिलो हप्ता संक्रमितको संख्या घटेर अस्पतालहरु पनि शून्य हुने अवस्थामा पुगेको थियो ।
निर्देशनालयको तथ्यांकअनुसार सक्रिय संक्रमितमध्ये ८ जना आइसियूमा उपचाररत थिए भने एकजना संक्रमितकोमात्रै भेन्टिलेटरमा उपचार भइरहेको थियो । हाइफलो अक्सिजनयुक्त आइसियूमा शून्य उपचाररत थिए । तर, अहिले उक्त संख्यामासमेत दशौं गुणाले वृद्धि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म गण्डकीमा सक्रिय संक्रमितको संख्यासमेत करिब ६ हजार पुगेको छ । ७१ जना संक्रमित आइसियूमा र ११ जना भेन्टिलेटरमा उपचाररत छन् । तथ्यांकअनुसार आइसियूभन्दा बढी हाइफलो शड्ढयामा उपचाररत धेरै छन् ।
बैशाख पहिलो हप्ता शून्य रहेको हाइफलो शड्ढया बुधबारसम्म आइपुग्दा १ सय ७३ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । यसले पनि प्रदेशमा गम्भीर प्रकृतिका संक्रमितको संख्यामा वृद्धि भएको तथ्य देखाउँछ ।
कोरोनाको संक्रमणदरसँगै पछिल्लो २ हप्तादेखि फेरि बढ्न थालेका छन् । उपचारमा संलग्न चिकित्सकका कोरोनाको यस संक्रमणदरलाई चाँडै नियन्त्रण अझै बढी भयावह स्थितिको सामना गर्नुपर्ने हुन्छ । संक्रमितको संख्या बढेसँगै फेरि अस्पतालहरु भरिभराउ हुन थालेको छ भने अक्सिजनको मागसमेत बढेको छ ।
‘पछिल्लो भेरियन्ट बढी संक्रामक छ । कहाँ, कस्तो के भन्ने अनुमानै गर्न सकिन्न । अहिलेको स्थिति डरलाग्दोमात्रै होइन, भयावह नै हो,’ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड फोकल पर्सन डा शरद बराल भन्छन्, ‘अस्पतालमा आउनेहरुको अवस्था पनि जटिल प्रकृतिको छ ।’
डा बराल निषेधाज्ञा खुकुलो भएसँगै हेल्चक्य्राइँ बढ्दा संक्रमणदर पनि बढेको बताउँछन् । ‘निषेधाज्ञा खुकुलो भयो भनेर हेलचक्य्राइँ पनि बढ्यो । यो भेरियन्ट छिटो फैलिने भएकाले पनि संक्रमणदर बढेको हो,’ उनले भने । पछिल्लो समय खोपकेन्द्र अव्यवस्थित हुँदा पनि त्यहींबाट संक्रमण फैलिन सघाउ पुगेको उनी बताउँछन् ।
तथा जनसंख्या मन्त्रालयका सचिव तथा निर्देशनालयका पूर्व प्रमुख डा विनोदविन्दु शर्माका अनुसार अन्य जिल्लाका संक्रमितको उपचार गण्डकी उपचार गर्न आउने र यहाँ आइपुग्दासम्म धेरै ढिलाइ हुँदा पनि मृत्युदर बढी देखिएको हो ।
‘हाम्रो प्रदेशको स्वास्थ्य पूर्वाधारमा राम्रो सुधार भएको छ । यही भएर अन्य प्रदेश/जिल्लाका संक्रमित हेली चार्टड गरेरै यहाँ उपचार गर्न आउँछन्,’ उनी दाबी छ, ‘तर, उहाँहरु आउँदै ढिलो आउनुहुन्छ । उहाँहरुको म्यानेज गर्दागर्दै पनि बचाउन सक्दैनौं ।’
तर, उनको दाबीलाई तथ्यगत मान्न भने सकिँदैन । प्रदेश स्वास्थ्य निर्देशनालयकै तथ्यांकलाई नियाल्ने हो भने कोरोनाबाट मृत्यु भएका १ हजार २१६ मध्ये सबै गण्डकी प्रदेशकै विभिन्न जिल्लाका हुन् ।
मृत्युदर किन बढेको हो रिपोर्ट तयार पार्दैछौं : मन्त्रालय
पछिल्लो ४ महिनामा ‘अस्वभाविक’ रुपमा मृत्युदर बढेपछि गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिपोर्ट तयार पार्ने भएको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक तथा प्रवक्तासमेत रहेका डा रामबहादुर केसीले पछिल्लो भेरियन्टको विश्लेषण गर्ने काम भइरहेको बताए ।
‘४ महिनायता संक्रमित बढेका छन् । मृत्यु हुनेको संख्या पनि धेरै देखियो । यसको खास कारण के हो भन्ने विश्लेषण गरेर रिपोर्ट तयार पार्दैछौं,’ डा केसीले भने, ‘२, ३ दिनमा यो पछिल्लो भेरियन्टको रिपोर्ट तयार भइसक्छ ।’
डा केसी पनि कोभिडविरुद्धको खोप केन्द्रमा अनावश्यक भिडभाड र अव्यवस्थित हुँदा संक्रमणदर बढेको स्वीकार्छन् । ‘हामीले यहाँबाट सक्ने जति गरिरहेकै छौं, भनिरहेकै छौं,’ भन्छन्, ‘भिड नगरे खोपै नपाइला जस्तो गरेरअ अनावश्यक भिडभाड गरियो । व्यक्ति आफैं सुरक्षित नहुँदासम्म केही हुँदैनन् ।’
प्रवक्ता केसीले होम आइसोलेसनमा रहेका बिरामी ढिलो गरी अस्पताल पुग्दा पनि मृत्युदर बढ्न पुगेको बताए । ‘होम आइसोलेसनमा रहेका बिरामीलाई निगरानीमा राखिराखेका छौं । तर, पनि उहाँहरुले रोग लुकाउनुहुन्छ, अवस्था गम्भीर भएपछिमात्रै अस्पताल आउँदा मृत्युदर बढेको हो,’ उनले भने ।
फेरि ‘लकडाउन’तर्फ !
कोरोना संक्रमणमा नियन्त्रणमा नआएको र समुदायस्तरमै फैलिएको भन्दै प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहले फेरि निषेधाज्ञामा कडाइ सुरु गरेका छन् । निषेधाज्ञा कडाइ गर्नेमा बागलुङ, तनहुँको शुक्लागण्डकी नगरपालिका र पोखराको एउटा वडा छन् ।
संक्रमित संख्या बढेको भन्दै जिल्ला प्रशासन कार्यालय, बागलुङले बैंक तथा वित्तीय संस्थासमेत खुल्न नपाउने गरी भदौ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । बुधबारअनुसार बागलुङमा ६ सय ८५ सक्रिय संक्रमित छन् भने ७८ जनाको मृत्यु भएको छ ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका र पोखरा ५ वडा कार्यालय भदौ ४ गतेसम्मका लागि बन्द गरिएको छ । कोरोनाको पछिल्लो लहरमासबैभन्दा बढी प्रभावित भएको कास्कीले भिडभाडजन्य क्रियाकलाप नगर्न र नगराउन आह्वान गरेको छ । कास्कीमा २ हजारभन्दा बढी सक्रिय संक्रमित छन् भने ५ सय २० जनाको मृत्यु भइसकेको छ ।




