पोखरा/ पछिल्लो ४ महिनामा यतामात्रै गण्डकीमा एक हजार बढी कोरोना संक्रमितको मृत्यु भएपछि प्रदेश सरकार कारणको खोजीमा छ । फेरि अस्पतालका बेडहरु भरिएका छन्, हाइफलोयुक्त अक्सिजन दिनुपर्ने शय्यामा बिरामीको चाप छ ।
पछिल्लो ‘डेल्टा’ भेरियन्ट अघिल्लाभन्दा अझ बढी संक्रामक र जोखिमयुक्त रहेको उपचारमा संलग्न विज्ञले चेतावनी दिँदै आएका थिए । तर, विज्ञले चेतावनी दिँदादिँदै पनि हेलचक्य्राइँकै कारण संक्रमण बढेको उनीहरुको आरोप छ ।
‘पहिलो लहरको कोरोनाले एक उमेर समूहलाईमात्रै जोखिम थियो । त्यसको प्रकृति पत्ता लगाउन पनि सहज थियो,’ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिडवार्डमा कार्यरत एक चिकित्सक भन्छन्, ‘पछिल्लो भेरियन्ट आफैंमा संक्रामक त छ नै । त्यसमा पनि सबैभन्दा बढी हेलचक्य्राइँ भएको छ । निषेधाज्ञामा कडाइ छैन, फुक्काफाल छन् ।’
प्रदेश स्वास्थ्य निर्देशनालयकै तथ्यांकलाई नियाल्ने हो भने पछिल्लो एक महिनामा कोरोना संक्रमण ह्वात्तै बढेको देखिन्छ । संक्रमणमात्रै बढेको छै, मृत्युदर पनि उच्च छ । ‘स्थिति भयावह छ । तत्काल नियन्त्रण नियन्त्रणमा नलाग्ने हो भने अझै डरलाग्दो स्थितिको सामना गर्नुपर्छ,’ ती चिकित्सक भन्छन् ।
प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीको दाबीअनुसार पछिल्लो समय पिसिआर तथा एन्टिजेन परीक्षणलाई ‘व्यापक’ बनाइएकाले संक्रमण बढेको देखिएको हो । ‘हामीले एन्टिजेन र पिसिआर परीक्षणलाई व्यापक बनाएका छौं । त्यसैले पनि पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको हो,’ अनलाइनखबरसँग भनिन्, ‘समुदायस्तरमै हामीले परीक्षणको दायरा पनि बढाएका छौं ।’
तर, निर्देशनालयकै तथ्यांकले भने मन्त्री अधिकारीको भनाइलाई पुष्टि गर्दैन । पछिल्लो एक महिनाकोमात्रै तथ्यांक नियाल्दा दैनिक १२ सयकै अनुपातमा परीक्षण गरिरहेको छ । त्यसभन्दा बढी परीक्षण बढेको देखिँदैन । बरु, संक्रमितको संख्या र सोही अनुपातमा मृत्युदर पनि दिनदिनै उकालो लागिरहेको प्रष्ट पुष्टि हुन्छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड वार्डका फोकल पर्सन डा शरद बराल डेल्टा भेरियन्टले सबै उमेर समूहलाई प्रभावित बनाइरहेकाले पनि संक्रमण बढेको बताउँछन् । ‘अहिले एउटा उमेर समूहमामात्रै नभएर सबै उमेर समूहलाई नै उत्तिकै जोखिम छ । सबै उमेर समूहका संक्रमितहरुको अवस्था नै गम्भीर प्रकृतिको हुन लागेको देखिन्छ,’ उनी भन्छन् ।
कोरोना संक्रमण र मृत्यदर बढेपछि प्रदेशका विभिन्न जिल्लाले तेस्रो चरणको लकडाउनको तयारी गरिसकेका छन् । बागलुङ जिल्लाले साउन २८ गतेबाटै शनिबारसम्मका लागि बैंक तथा वित्तीय संस्थासमेत खुल्न नपाउने गरी निषेधाज्ञामा कडाइ गरेको छ ।
प्रदेशभरमै सबैभन्दा बढी सक्रिय संक्रमित रहेको र क्षति व्यहारेको कास्कीले बिहीबारदेखि निजी तथा सार्वजनिक यातायातमा पुनः जोरबिजोर प्रणाली लागू गरेको छ । तनहुँले पालिकाअनुसार २७ गतेदेखि बार छुट्याएर सेवा दिने भएको छ । विभिन्न स्थानीय तहलेसमेत कर्मचारीमा संक्रमण देखिएपछि सेवा नै बन्द गर्न सुरु गरिसकेका छन् ।
एक महिना यता बढेको संक्रमणको कारण खोज्दै जाने हो भने पछिल्लो ४ महिना यताका राजनीतिक गतिविधिसमेत एक कारक मान्न सकिन्छ । संक्रामक तथा सरुवा रोग अस्पतालमा कार्यरत एक चिकित्सक भन्छन्, ‘निषेधाज्ञा खुकुलो भएपछि भीडभाडजन्य क्रियाकलाप त हुनु नै थियो । तर, सबैभन्दा बढी जिम्मेवार पदमा पदाशिन राजनीतिक व्यक्तित्वबाटै पनि बढी उलंघन भएको देखिन्छ ।’
जिम्मेवार व्यक्तिबाटै हुन्छ स्वास्थ्य मापदण्ड उलंघन
कोरोना महामारीको दोस्रो लहर चलिरहेकैबेला तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दलबलसहित कोरोना संक्रमित उपचार केन्द्र संक्रामक तथा सरुवा रोग अस्पतालको आइसियू कक्ष उद्घाटन गर्न पुगेका थिए । उनी त्यतिबेला आफैं संक्रमितसमेत थिए ।
बहालवाला मुख्यमन्त्री रहेकैबखत आफैं स्वास्थ्य मापदण्ड उलंघन गर्दै सार्वजनिक कार्यक्रमहरुमा हिँडेपछि चर्को आलोचनासमेत भएको थियो । कोरोनाले कमजोर बनेका गुरुङलाई सहयोगीले भर दिनुपरेको थियो ।
त्यसको केहीसमयपछि प्रदेश सरकार परिवर्तन भयो । सार्वजनिक सभा समारोह गर्न प्रशासनले रोक लगाएपनि हालका सरकारका पदाधिकारीसमेत मापदण्ड उलंघन गर्दै आएका छन् । नयाँ प्रदेश सरकार गठन भएको करिब ३ महिना बित्न लाग्दासमेत मुख्यमन्त्री कृष्णचन्द्र नेपाली भेटघाट तथा बधाइ ग्रहणमा व्यस्त छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमासमेत स्वास्थ्य मापदण्ड पालना भएको देखिँदैन । प्रदेश सरकारकै २ जना मन्त्री कोरोना संक्रमित भएर होमआइसोलेसनमा छन् ।
खोपकेन्द्र केन्द्र कोरोना ‘हटस्पट’
पछिल्लो समय सबैभन्दा बढी संक्रमण कोरोना खोपकेन्द्रबाटै फैलिएको सरकारकै स्वीकारोक्ति छ । आफूहरुले भौतिक दूरीका साथै अन्य स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दा पनि सेवाग्राहीबाटै उलंघन भइरहेको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा रामबहादुर केसी बताउँछन् ।
संक्रामक तथा सरुवा रोग अस्पताल प्रमुख डा विकास गौचनसमेत खोप केन्द्रबाटै बढी संक्रमण फैलिएको सुनाउँछन् । ‘स्वास्थ्य मापदण्ड पालना छैन । खोप केन्द्र अस्तव्यस्त छ । भ्याक्सिन केन्द्र पनि हटस्पट हो,’ अनलाइनखबरसँग उनले भनेका थिए ।
खोप केन्द्र अस्तव्यस्त अनियमितता भएपछि कास्कीमा केही दिन खोप अभियानै रोकिएको थियो । पोखरा महानगरले सूचना जारी गरेरै मातहतका केन्द्रलाई स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन आग्रह गर्नुपरेको थियो ।
खोप लगाइसकेपछि सेवाग्राहीले लापरवाही गर्दा पनि संक्रमण बढेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा खिमबहादुर खड्काको भनाइ छ । ‘खोप लगाइसकेपछि हामी सुरक्षित भयौं भनेर सामाजिक दूरी त परको कुरा, मास्क पनि लगाउन छाडे । अनावश्यक भीडभाडदेखि व्यक्ति आफैं सजग हुनुपथ्र्यो, त्यसो भएन । लापरवाही भयो,’ उनले भने ।
सार्वजनिक स्थलमा भीडभाड, यातायातमा हेलचक्य्राइँ
दोस्रो चरणको लकडाउन (निषेधाज्ञा) खुकलो भएसँगै प्रशासनसमेत लचिलो बन्यो । तोकिएकाबाहेक क्षेत्र पनि खुले । असार १४ गते सार्वजनिक यातायात खुलेसँगै बजारमा बढी भीड बढेको थियो ।
‘निषेधाज्ञा खुकुलो बनाए पनि निषेधित क्षेत्रमा कडाइ गर्नुपथ्र्यो । तर, त्यसो भएन । बरु, सार्वजनिक स्थलमै भौतिक दूरीबिनै कार्यक्रम हुन थाले,’ मन्त्रालयकै एक कर्मचारीले भने, ‘प्रशासनले ध्यान नदिँदा पनि संक्रमण फैलिन सघाउ पुग्यो ।’ अहिले प्रशासनले फेरि चेकजाँचमा कडाइ गर्दै मापदण्ड उलंघन गर्नेलाई जरिवाना सुरु गर्न थालेको छ ।




