काठमाण्डौँ, ४ भदौ–भारतीय नागरिक शेर सिंह भन्ने रवि कुमार सिंहले नेपालमा ठगि गर्दै आएरहेको भेटिएको छ ।
भारतको हिमाञ्चल प्रदेश रामपुर गसेरा सिम्ला जिल्ला नोगली पञ्चायतका ३९ वर्षिय सिंहले नेपालको नक्कली नागरिकता तथा सवारी चलाक अनुमति पत्र बनाइ विभिन्न वाहानामा ठगि गर्दै आइरहेको भेटिएको हो ।

जाली नागरिकता सहित अनेक किसिमका फर्जी कागजात बनाइ उनले विभिन्न व्यक्तिलाई ठगि गर्दै फरार भएका थिए । उनले ठगि गरेको भन्ने विभिन्न व्यवसायीहरुबाट उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

उनलाई ललितपुर महालक्ष्मी नगरपालिका ५ सेतीपाखाबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । भारतीय नागरिक सिंहले नेपालमा लामो समय देखि ठगीको धन्दा गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी भएको भनिएको नागरिकता नक्कल रहेको र सवारि चालक अनुमतिपत्र समेत किर्ते गरी बनाएको खुल्न आएको हो ।
सिंह विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसूरमा मुद्दा दर्ता गराइ थप अनुसन्धानका भइराखेको प्रहरीले जानकारी दिएको छ ।
उनीबाट धेरै व्यक्ति ठगिएको हुनसक्ने भन्दै प्रहरीले ठगीएका व्यक्तिलाई प्रहरीको सम्पर्कमा आउन आग्रह समेत गरेको छ ।
यसरी फसाउँदै आउँथे सिंहले
सिंहले आफू नेपाली नागरिक रहेको र कम्पनीको संचालक, म्यानेजर जस्ता ठुला पदको व्यक्ति देखाउने फर्जी परिचयपत्र देखाउँदै रकम विभिन्न विषयमा रकम असुल्दै सम्पर्क विहिन हुने गर्दथे ।
उनले देखाउने कागजपत्र झट्ट हेर्दा सक्कल नै देखिन्थ्यो । ठगीमा पोख्त उनले बुटवल उपमहानगरपालिका ८ का महेन्द्र कुमार श्रेष्ठलाई भेटे ।

श्रेष्ठालाई चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडको कागजात देखाई अञ्जली कन्ट्रक्सन र आफ्नो साझेदारी हो भन्दै लगानी गरे मुनाफाको ४० प्रतिशत पाउने प्रलोभन देखाए ।
यतिमात्र होइन सिंहले विस्वास दिलाउनलाई रकम नै नभएको कुमारी बैंकको चेक समेत दिए । उनले बुटवल नारायणघाट सडक खण्डमा रुख कटानको सव कन्ट्याक्ट छ भन्दै ४३ लाख ७३ हजार रुपैँया लिए ।
लुम्बिनी साँस्कृतिक नगरपालिका ६ का कृष्ण बहादुर गरुङ (अनिल) लाई अञ्जुली कन्स्ट्रक्सनको म्यानेजिङ डाइरेक्टर रहेको बताए । आफूलाई कार चाहिएको बताउँदै सिंहले गुरुङसंग रहेको बा १२ च ३८५९ नं. को स्विफट डिजायर कार मासिक ९० हजार रुपैँया भाडा दिने भन्दै लिएर सम्पर्क विहिन भए ।

सोही कार भक्तपुर नगरपालिका १५ घर भई हाल काडमाण्डौँ बस्दै आएका प्रदिप राइसामू बन्धक राख्दै ८ लाख ३५ हजार रुपैँया लिए ।
सिंहले कार आफ्नै हो भन्दै सवारि दर्ता किताब आफूसंग रहेको र तत्कालका लागि पैसाको खाँचो परेको बाहाना बनाए ।
उनले नक्कली ब्लुबुक देखाई कार र ब्लुबुक धितो बन्धकी राखेका हुन् । यस्तै चुरियामाई ईन्टरप्राइजेज जडिबुटी, काठमाडौँका सञ्चालक कृष्णहरी गौतमसँग बजाज कम्पनीको बा ९५ प १६८ नं. को डोमिनार–४०० सिसिको मोटरसाइकल ३ लाख ३० हजारमा किन्छुभन्दै ३० हजारमा लिएर वेपत्ता भए ।

काठमाण्डौँबाट उनी ठगि गर्न धनुषा पुगे । जनकपुरधाम उपमहानगरपालिका स्थित न्यू साह एण्ड ईन्टरप्राइजेजका सञ्चालक प्रदिप कुमार साहलाई रोयल हाइड्रो कन्ट्रक्सन प्राइभेट लिमिटेडको म्यानेजिङ डाइरेक्टर भन्दै मारुती सुजुकी कम्पनीको प्रदेश–३–०१÷ ०२३ च ००५० नं. को ब्रजा कार मासिक १ लाख ५० हजार भाडा दिन्छु भन्दै उठाएर सम्पर्क विहिन भए ।
सोही कम्पनीको संस्थापक अध्यक्ष बताउँदै उनले विभिन्न व्यक्तिबाट १ करोड रुपैँया समेत लिए । उनले कम्पनीको किर्ते हस्ताक्षर, छाप तथा लेटरप्याडको प्रयोग गर्दै ठगि गर्दै आइरहे । उनलाई प्रहरी ब्रजा कार सहित पक्राउ गर्न सफल भएको हो ।
सिंहले ठगि गरेको भन्दै रोयल हाइड्रो कन्ट्रक्सन प्राइभेट लिमिटेडका संस्थापक अध्यक्ष सुरेन्द्र बहादुर शाही र प्रेम बहादुर शाही लगायत पिडित व्यक्तिहरुले दिएको निवेदनका आधारमा प्रहरीले पक्राउ गरेको हो ।





